दैलेख । किशोरीहरू समाजमा विद्यमान छाउपडी प्रथा, बालविवाह र लैङ्गिक हिंसाविरुद्ध सङ्गठित रूपमा अभियान सञ्चालन गर्न थालेका छन् । घर र विद्यालयमा सीमित रहने किशोरीहरू अहिले गाउँ–टोलमै पुगेर जनचेतना फैलाउने, बालविवाह रोक्ने तथा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने कार्यमा सक्रिय देखिएका छन् । नारायण नगरपालिकाका विभिन्न वडामा गठन गरिएका किशोरी समूहले सामाजिक कुरीति अन्त्यका लागि समुदायसँग प्रत्यक्ष संवाद गर्दै अभिभावक, स्थानीय अगुवा र किशोरीहरूलाई सचेत बनाउने अभियान सञ्चालन गरेका छन् ।
उनीहरूको सक्रियतासँगै समुदायमा बालविवाह, छाउपडी प्रथा र लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सोचको विकास हुन थालेको स्थानीयको भनाइ छ । नारायण नगरपालिका छकी सुमित्रा सार्कीले विशेषगरी दलित समुदायमा कम उमेरमै विवाह गर्ने चलन अझै कायम रहेकाले त्यसविरुद्ध किशोरीहरू एकजुट भएर काम गरिरहेको बताइन् । उनका अनुसार बालविवाहले किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा नकारात्मक असर पार्ने भएकाले समुदायलाई त्यसबारे निरन्तर सचेत बनाइँदै आएको छ ।
आफूहरू सचेत भएपछि अन्य किशोरी र अभिभावकमा पनि सकारात्मक परिवर्तन देखिन थालेको उनले बताइन् । आवाज संस्थाले ‘सशक्त महिला, समृद्ध नेपाल’ अभियानअन्तर्गत सञ्चालन गरेको ‘सकारात्मक लैङ्गिक मापदण्डको प्रवर्द्धन, लैङ्गिक हिंसा रोकथाम र सेवामा पहुँच अभिवृद्धि’ परियोजनामार्फत किशोरीहरूलाई रूपान्तरण कक्षा सञ्चालन गरिएको छ । उक्त तालिमपछि उनीहरू सामाजिक अभियानमा सक्रिय रूपमा सहभागी हुन थालेका हुन् ।
परियोजनाअन्तर्गत गठन भएका किशोरी समूहले हालसम्म आफ्नो समुदायमा १६ वटा बालविवाह हुनबाट रोकेको जनाएको छ । साथै छाउगोठमा बस्न बाध्य महिलालाई सुरक्षित रूपमा घरमै बस्ने वातावरण बनाउन पनि पहल गरिएको छ । नारायण नगरपालिकाका चार वडाका २५० किशोरी रूपान्तरण कक्षामा सहभागी भएका छन् ।
विद्यालय उमेरमै पढाइ छाडेका किशोरीलाई आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रममार्फत प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले आयआर्जनमूलक कार्यक्रममा समेत सहभागी गराएको छ । स्थानीय तह र किशोरीहरूको संयुक्त प्रयासले सामाजिक कुरीति न्यूनीकरणसँगै महिला सशक्तीकरणमा सकारात्मक परिणाम देखिन थालेको विश्वास गरिएको छ ।









