२०८३ असार १६ , मंगलबार

बजार छैन् ,कागती बोटमै कुहियो



मुगु  ।  जिल्लाकाे  छायानाथ रारा नगरपालिका १३ तिर्पगाउँका व्यावसायिक कृषक अङ्गबहादुर रोकायाले उत्पादन गरेको कागती बजारसम्म पुग्न नसक्दा ठूलो परिमाणमा बोटमै कुहिएको छ । सडक, ढुवानी सुविधा र बजार पहुँचको अभावले वर्षौँदेखिको मेहनत खेर जाँदा कृषक आर्थिक रूपमा मारमा परेका छन् । २०५७ सालदेखि व्यावसायिक कृषि गर्दै आएका रोकायाले पाँच रोपनी क्षेत्रफलमा कागती खेती गर्दै आएका छन् उनका अनुसार हरेक वर्ष ६० देखि ७० क्विन्टलसम्म उत्पादन हुने कागती यस वर्ष करिब ५१ क्विन्टल फलेको थियो । तर यातायातको सहज पहुँच नहुँदा करिब २२ क्विन्टल कागती बोटमै कुहिएर नष्ट भएको छ ।

उत्पादन राम्रो भएकाले घरखर्च व्यवस्थापन र ऋण तिर्न सहज हुने अपेक्षा गरे पनि बजारसम्म कागती पुर्‍याउन नसक्दा आम्दानी लिन नसकेको उनले बताए जारसम्म पुग्ने सडक र ढुवानी सुविधा छैन । पिठ्युँमा बोकेर लैजाँदा लागतसमेत उठ्दैन । बजार पुगे पनि बिचौलियाका कारण उचित मूल्य पाइँदैन,” उनले भने । स्थानीय कृषक हर्कबहादुर रोकायाले दुर्गम क्षेत्रमा उत्पादन हुने फलफूल तथा तरकारीको सङ्कलन, भण्डारण र बजारीकरणको प्रभावकारी व्यवस्था नहुँदा किसानले उचित मूल्य पाउन नसकेको बताए ।

शीतभण्डार, सङ्कलन केन्द्र, सडक पहुँच र ढुवानी सुविधाको अभावले व्यावसायिक कृषिप्रति किसानको उत्साह घट्दै गएको उनकाे भनाइ छ । कृषकहरूले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग कृषि उत्पादनको बजारीकरण, ढुवानीमा अनुदान, सडक विस्तार तथा शीतभण्डार निर्माणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय मुगुका निमित्त प्रमुख तेजविक्रम मल्लले जिल्लाबाहिर कृषि उपज ढुवानी गर्न अनुदानको व्यवस्था रहेको जानकारी दिए ।

स्थानीयका अनुसार दुर्गम बस्तीमा पूर्वाधारको अभावका कारण त्यस्तो सुविधा प्रभावकारी रूपमा उपयोग हुन सकेको छैन । स्थानीय बाँचुकला कार्कीले अङ्गबहादुर रोकायाको समस्या एक कृषकमा मात्र सीमित नभई मुगु तथा कर्णालीका अधिकांश व्यावसायिक कृषकले भोग्दै आएको साझा समस्या भएको बताए । समयमै बजार व्यवस्थापन र कृषि पूर्वाधार विस्तार नगरिए उत्पादन खेर जाने अवस्था अझ बढ्ने उनकाे चेतावनी छ ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार