हुम्ला । जिल्लामा बालविवाहका घटना बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएपछि विद्यालयस्तरमा बालविवाह तथा छाउपडी प्रथाविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । किशोरकिशोरीलाई लक्षित गर्दै सुरु गरिएको यस अभियानले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने २० वर्षमुनिका महिलाको सङ्ख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ । यही अवस्थालाई मध्यनजर गर्दै सामाजिक विकास कार्यालयले चालु आर्थिक वर्षको बजेटबाट आवश्यक स्रोत व्यवस्थापन गरी विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्न थालेको हो ।
सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले बालविवाहको समस्या समाधानका लागि किशोरकिशोरीलाई सही जानकारी दिन आवश्यक रहेको बताए । उनका अनुसार बालविवाहका सामाजिक, शैक्षिक, स्वास्थ्य तथा कानुनी असरबारे विद्यार्थीलाई जानकारी गराउँदा उनीहरू आफैं सचेत भई समाजमा सकारात्मक सन्देश फैलाउन सक्षम हुनेछन् ।
सिमकोट गाउँपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयमा सामाजिक विकास कार्यालयको सहकार्यमा कक्षा नाै का विद्यार्थीहरूलाई लक्षित गरी बालविवाह तथा छाउपडी प्रथासम्बन्धी विशेष सचेतना कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहोराले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीलाई बालविवाहका कारण हुने स्वास्थ्य जोखिम, शिक्षा छोड्नुपर्ने अवस्था, कानुनी व्यवस्था तथा सामाजिक असरबारे जानकारी दिइएको थियो। विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले सरकारी निकायको पहलमा विद्यालयमै यस्तो कार्यक्रम सञ्चालन हुनु सकारात्मक सुरुआत भएको बताए । उनले बालविवाह रोकथामका लागि किशोरकिशोरीलाई केन्द्रमा राखेर सञ्चालन गरिने यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि यस्ता गतिविधि उपयोगी भएको बताएका छन् । कक्षा नाैकी छात्रा स्मृति रावतले पाठ्यपुस्तकभन्दा बाहिरका सामाजिक विषयमा व्यवहारिक ज्ञान प्राप्त गर्न पाउँदा आफूहरूलाई धेरै लाभ भएको बताए । उनका अनुसार यस्ता कार्यक्रमले बालविवाह र छाउपडी प्रथाप्रति समाजमा सकारात्मक सोच विकास गर्न सहयोग पुग्नेछ ।








