२०८३ असार २४ , बुधबार

सेवा सुधारमा सार्वजनिक सुनुवाइ



जाजरकोट ।  जिल्लाकाे  शिवालय गाउँपालिकाले स्थानीय सरकारबाट प्रवाह हुने सेवाको गुणस्तर सुधार, पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, महिला तथा बालबालिकासम्बन्धी सेवा र विकास आयोजनाबारे सुझाव तथा गुनासा राखेका थिए ।

शिवालय गाउँपालिका आठका कर्णबहादुर वलीले युवालाई स्वदेशमै रोजगारी र उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।  उनले अधुरा विकास आयोजना समयमै सम्पन्न गराउन, असारे विकासको प्रवृत्ति अन्त्य गर्न तथा विकास निर्माणको गुणस्तरमा ध्यान दिन गाउँपालिकालाई आग्रह गरे । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै पछाडि परेका महिला, बालबालिका तथा जोखिममा रहेका समुदायका लागि थप लगानी आवश्यक रहेको उनकाे भनाइ थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रममा समेटिने बताउँदै सेवा प्रवाहमा देखिएका कमजोरी सुधार गर्दै जनअपेक्षाअनुसार काम गरिने प्रतिबद्धता व्यक्त गरे ।  गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले नागरिकको आवश्यकता र चाहनालाई आधार बनाएर विकास योजना अघि बढाइने बताए । यसैबीच, मुगुको सोरू गाउँपालिका पाँचका कालै र लिब्रु गाउँमा पनि सार्वजनिक सुनुवाइमार्फत चालु आर्थिक वर्षका विकास कार्यक्रम सार्वजनिक गरिएको छ ।

आइएनएफ मुगुका अनुसार आर्थिक वर्ष २०८२/८३ मा क्षमता विकास, आयआर्जन, सिँचाइ, आधुनिक कृषि, स्वच्छ खानेपानी र सरसफाइलगायत कार्यक्रममा ५६ लाख ५४ हजार एक सय ८५ रुपैयाँ खर्च गरिएको छ । सहजकर्ता सरिता शाहीले सार्वजनिक सुनुवाइले पारदर्शिता, जवाफदेहिता र जनसहभागिता सुदृढ बनाउन सहयोग पुगेको बताए ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधबार