२०८३ असार २४ , बुधबार

कृषकको प्राविधिक क्षमतामा अभिवृद्धि



सल्यान ।  शारदा नगरपालिकाले कृषि यान्त्रिकीकरणलाई प्रभावकारी बनाउने तथा किसानको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको तीनदिने मिनी टिलर (हाते ट्र्याक्टर) मर्मत–सम्भार तालिम सम्पन्न गरेको छ । असार २१ गतेदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा शारदा नगरपालिका एकका वडाध्यक्ष प्रदीपकुमार पाण्डेको अध्यक्षता तथा नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपप्रमुख सुस्मिता सापकोटा, नगर प्रवक्ता राजेशकुमार शर्मा, वडा नं. तिनका अध्यक्ष तुल्सा भण्डारी, कृषि विकास शाखा प्रमुख कबिराज ज्ञवालीलगायत जनप्रतिनिधि, कर्मचारी तथा किसानको उपस्थिति रहेको थियो  । नगरपालिकाका अनुसार तालिममा ४१ जना कृषक सहभागी भएका थिए । सहभागीलाई मिनी टिलरको संरचना, नियमित मर्मत–सम्भार, सुरक्षित सञ्चालन तथा प्रयोगका क्रममा देखिने सामान्य प्राविधिक समस्या पहिचान र समाधानका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

तालिमपछि सहभागी किसानले मिनी टिलरमा आउने सामान्य खराबी आफैं पहिचान गरी मर्मत गर्न सक्ने सीप हासिल गरेको बताएका छन् । यसले सामान्य समस्याका लागि प्राविधिक खोज्दै समय र अतिरिक्त खर्च गर्नुपर्ने अवस्था कम हुने उनीहरूको विश्वास छ । किसानले यस्ता तालिमले कृषि कार्यलाई थप सहज, उत्पादनमुखी र लागत प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका छन् ।

नगरप्रमुख प्रकाश भण्डारीले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नु नगरपालिकाको प्राथमिकतामा रहेको बताए । उनले किसानलाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउन आवश्यक सीपमूलक तालिमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए । शारदा नगरपालिकाले कृषि उत्पादन वृद्धि, श्रमको बचत तथा यान्त्रिकीकरणको प्रभावकारी प्रयोगलाई प्रोत्साहन गर्न यस्ता तालिम नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । नगरपालिकाको विश्वास छ कि किसानको प्राविधिक दक्षता बढेसँगै कृषि उत्पादनमा वृद्धि हुनुका साथै खेतीपाती थप व्यवस्थित, आधुनिक र व्यावसायिक बन्नेछ ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधबार