२०८३ असार २५ , बिहीबार

सशस्त्र प्रहरी भवनका लागि बजेट विनियोजन



हुम्ला  ।  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि हुम्लास्थित सशस्त्र प्रहरी बल नेपालका दुई कार्यालय भवन निर्माण गर्न आठ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट विनियोजनसँगै सदरमुकाम सिमकोटमा रहेको ४४ नम्बर गुल्म र हिल्सास्थित बोर्डर आउट पोस्ट (बीओपी) को आफ्नै भवन निर्माण प्रक्रिया अघि बढ्ने भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दबहादुर साउदका अनुसार सिमकोट र हिल्साका कार्यालय भवन निर्माणका लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो । विनियोजित बजेटमध्ये सिमकोट गाउँपालिका–५ बचुनधारा डाँडामा निर्माण हुने ४४ नम्बर गुल्मको भवनका लागि दुई करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ ।

करिब ३० करोड रुपैयाँको बहुवर्षीय योजनाअन्तर्गत भवन निर्माण गरिने भएकाले बाँकी बजेट आगामी आर्थिक वर्षहरूमा उपलब्ध गराइने जनाइएको छ । भवन निर्माण हुने स्थान डाँडो भएकाले जग्गा सम्याउने कामसमेत गरिनेछ । करिब ३०० रोपनी सार्वजनिक जग्गाको भोगाधिकार प्रमाणपत्र गत वर्ष सरकारबाट गुल्मको नाममा प्राप्त भएको थियो ।

४४ नम्बर गुल्म २०७५ भदौ २२ गते स्थापना भएदेखि हालसम्म तत्कालीन जिल्ला विकास समितिको भवन तथा जिल्ला प्रशासन कार्यालयको पुरानो जीर्ण भवनबाट सेवा सञ्चालन गर्दै आएको छ। आफ्नै भवन निर्माण भएपछि सेवा सञ्चालन थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ । यस्तै, २०७७ असार छ गते स्थापना भएको हिल्सास्थित बोर्डर आउट पोस्ट (बीओपी) को भवन निर्माणका लागि छ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  उक्त बजेटमध्ये तिन करोड रुपैयाँ संघीय सरकारले र तिन करोड रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएका छन् ।

बीओपी हिल्सा स्थापना भएदेखि हालसम्म भाडाको भवनबाट सञ्चालन हुँदै आएको छ । गत वर्ष नै बीओपीका नाममा दुई हजार सात सय ७८ वर्गमिटर जग्गा प्राप्त भइसकेको छ । निर्माण हुने नयाँ भवनमा नेपाल–चीन सीमा सुरक्षासम्बन्धी बैठकका लागि दुई देशका सुरक्षा निकायले प्रयोग गर्न मिल्ने बैठक हलसमेत निर्माण गरिने योजना रहेको छ ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार