जाजरकोट । जाजरकोटको भेरी नगरपालिका चार बोहोरागाउँमा निर्माणाधीन मालपोत र नापी कार्यालयका भवन समयमै सम्पन्न नहुँदा दुवै कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण भवन अलपत्र परेपछि कार्यालयहरू अस्थायी भवनबाट सञ्चालन गर्न बाध्य भएका हुन् । २०७९ जेठमा २०८१ जेठ २५ गतेभित्र सम्पन्न गर्ने गरी जयभवानी जेके जेभीसँग तिन करोड ३५ लाख ९८ हजार नाै सय रुपैयाँमा मालपोत कार्यालय भवन निर्माणको सम्झौता गरिएको थियो । तर निर्धारित समय बितिसक्दा पनि भवन निर्माण पूरा हुन सकेको छैन ।
मालपोत कार्यालय प्रमुख डिल्लीबहादुर केसीका अनुसार भवन अभावका कारण कार्यालय एउटा कोठाबाटै सेवा दिन बाध्य छ । निर्माण व्यवसायीसँग सम्पर्क गर्न खोजिए पनि सम्पर्क हुन नसकेको उनले बताए । यस्तै, नापी कार्यालयको भवन निर्माणका लागि २०७८ असारमा धुलिखेल जेके जेभीसँग दुई करोड ९४ लाख रुपैयाँमा सम्झौता गरिएको थियो । २०८० असार १० गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि तीन पटक म्याद थप्दा पनि निर्माण पूरा भएको छैन ।
करिब ८५ प्रतिशत काम सम्पन्न भए पनि बाँकी काम रोकिएको छ । २०७९ को भूकम्पपछि भाडामा रहेका कार्यालय भवन क्षतिग्रस्त भएपछि मालपोत, नापी र अन्य सरकारी कार्यालयहरू शिक्षा विकास तथा समन्वय एकाइको भवनबाट सञ्चालन हुँदै आएका छन् । एउटै भवनमा तीन वटा कार्यालय सञ्चालन गर्नुपर्दा सेवा प्रवाहमा कठिनाइ भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख यज्ञश्वर खत्रीले बताए । नापी कार्यालयका लेखापाल दीपक बुढाका अनुसार पर्याप्त ठाउँको अभावले सेवाग्राहीलाई बस्ने स्थानसमेत उपलब्ध गराउन सकिएको छैन ।
गाउँबाट आएका सेवाग्राही खुला आकाशमुनि पालो कुर्न बाध्य हुने गरेका छन् । मालपोत कार्यालय भवनको करिब ७५ प्रतिशत र नापी कार्यालय भवनको करिब ८५ प्रतिशत निर्माण सम्पन्न भए पनि बाँकी काम रोकिएपछि सरकारी सेवा सञ्चालनमा समस्या बढ्दै गएको छ । स्थानीयले निर्माण व्यवसायीको लापरबाहीप्रति असन्तुष्टि जनाउँदै भवन निर्माण छिटो सम्पन्न गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।









