२०८३ असार २५ , बिहीबार

भेरी–बबईका लागि एक सय ३२ केभी लाइन प्रसारण



सुर्खेत ।  राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने ४६.८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न एक सय ३२ केभी प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको भेरी–बबई डाइभर्सन आयोजनाले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनसँग जोड्न करिब १.७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेको हो ।

प्रस्तावित प्रसारण लाइनमा नौवटा मल्टी सर्किट टावर रहनेछन् । तीमध्ये तीन वटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी छ वटा मध्यवर्ती क्षेत्रमा निर्माण गरिनेछन् । आयोजना कार्यान्वयनअघि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया अघि बढाइएको छ । प्रभावित क्षेत्रका स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवालासँग सात दिनभित्र लिखित राय–सुझाव मागिएको आयोजनाले जनाएको छ ।

नेपाल सरकारको लगानीमा निर्माण भइरहेको भेरी–बबई डाइभर्सन आयोजनाको हालसम्म ७० प्रतिशत भौतिक र ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाअन्तर्गत १२.२ किलोमिटर सुरुङमार्फत भेरी नदीको पानी बबई नदीमा स्थानान्तरण गरी बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराइनेछ ।  साथै ४६.८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको अद्यावधिक लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । सुरुङ निर्माण सम्पन्न भइसकेको छ भने अहिले सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल संरचनाको काम भइरहेको छ । आयोजनाका अनुसार बाँकी निर्माण सम्पन्न गर्न अझै दुईदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ । यता, मुगुमा निर्माण प्रस्ताव गरिएको तिन सय छ मेगावाट क्षमताको माथिल्लो मुगु–कर्णाली जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र प्रक्रिया पनि अघि बढेको छ ।

विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित आयोजनासम्बन्धी दाबी वा सुझाव भए ३५ दिनभित्र पेस गर्न सरोकारवालालाई आग्रह गरेको छ । करिब ५५ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाबाट सन् २०३३ सम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार