२०८३ असार २८ , आइतबार

असारे विकास फेरि दोहोरियो



कालीकोट । आर्थिक वर्षको अन्तिम चरणसँगै कर्णाली राजमार्गका विभिन्न खण्डमा सडक मर्मत, कङ्क्रिट ढलान तथा कालोपत्रेको काम तीव्र पारिएको छ । वर्षायाम सुरु भइसकेको समयमा निर्माण कार्य सञ्चालन भइरहेका कारण यात्रु र सवारीचालकले आवतजावतमा कठिनाइ भोगिरहेका छन् । राजमार्गका दैलेखको पादुका–राकम खण्डदेखि कालीकोटका विभिन्न स्थानसम्म सडक मर्मत, ढलान र पर्खाल निर्माणका काम भइरहेका छन् ।

निर्माणका कारण सडक साँघुरो बनेको छ भने सवारीसाधनलाई पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले यात्रा समय लम्बिनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयको भनाइ छ । वर्षाका बीच निर्माण कार्य हुँदा निर्माण सामग्री बग्ने, कामको गुणस्तरमा असर पर्ने तथा सडक अवरुद्ध हुने सम्भावना बढेको स्थानीयले बताएका छन् । नेपालमा आर्थिक वर्षको अन्तिम महिनामा बजेट खर्च गर्न हतारिने प्रवृत्तिलाई ‘असारे विकास’ भनेर आलोचना गरिँदै आएको छ ।

सडक निर्माण तथा कालोपत्रे जस्ता काम सुक्खा मौसममा गर्दा बढी गुणस्तरीय र दिगो हुने विज्ञहरूको सुझाव भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो छ । रास्कोट नगरपालिकाका पूर्वप्रमुख काशीचन्द्र बरालले ‘असारे विकास’ रोक्न आफूले प्रयास गरे पनि सफल हुन नसकेको बताए । उनका अनुसार यो प्रवृत्ति स्थानीय तहदेखि सङ्घीय सरकारसम्म कायम रहेको छ ।

स्थानीय लीलाराज न्यौपानेले वर्षायाममा सडक मर्मत गर्दा न निर्माणको गुणस्तर सुनिश्चित हुने न यात्रुले सहज यात्रा गर्न पाउने अवस्था रहेको बताए । उनले योजनाबद्ध र समयमै निर्माण सम्पन्न गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए । स्थानीयका अनुसार वर्षाको समयमा प्रयोग हुने रोलर, एक्साभेटरलगायत भारी उपकरणका कारण सडकमा थप जोखिम सिर्जना हुने गरेको छ ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतबार