दैलेख । चामुण्डाबिन्द्रासैनी नगरपालिका तिन चाम्रेकोटका किसान पछिल्लो समय बँदेल आतंकका कारण समस्यामा परेका छन् । वर्षौंदेखि जंगली बँदेलले बाली नष्ट गर्दै आएपछि किसानहरू रातभर खेतमै जाग्राम बस्न बाध्य भएका छन् । मेहनत गरेर लगाएको बाली जोगाउन नसक्दा किसानको आम्दानी र भविष्य दुवै प्रभावित बनेको छ । स्थानीय किसानका अनुसार बँदेलले मकै, गहुँ, आलु तथा अन्य कृषि बालीमा ठूलो क्षति पुर्याउँदै आएको छ । दिनभर खेतमा काम गर्ने किसान राति पनि बाली सुरक्षाका लागि खेतमै बस्नुपर्ने अवस्था छ ।
खेती गरेर जीविकोपार्जन गर्ने किसानले वन्यजन्तुको क्षति सहनुपरे पनि त्यसको दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन् । गत हिउँदमा परेको असिना पानीका कारण समेत चाम्रेकोट क्षेत्रका किसानले ठूलो क्षति व्यहोरेका थिए । असिनाले गहुँलगायतका हिउँदे बाली नष्ट गरेपछि थप समस्यामा परेका किसान अहिले बँदेल आतंकबाट पीडित बनेका छन् । किसानहरूले कृषि क्षेत्रलाई देशको मेरुदण्ड मानिँदै आए पनि वास्तविक रूपमा किसानको उत्पादन सुरक्षामा ध्यान नदिइएको गुनासो गरेका छन् ।
वन्यजन्तुबाट हुने क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था तथा बँदेल नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको माग छ । स्थानीयवासीले किसानले उत्पादन गर्ने, कर तिर्ने तर क्षति हुँदा राज्यको सहयोग नपाउने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । उनीहरूले बाली संरक्षणका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले समन्वय गरी प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । किसानका अनुसार तत्काल राहत, क्षतिपूर्तिको व्यवस्था तथा वन्यजन्तु नियन्त्रणका लागि ठोस कदम चाल्न सके मात्र कृषि पेशाप्रति किसानको भरोसा कायम रहनेछ ।








