सुर्खेत । सुर्खेत बुलबुल ताल, माया मै सानी हुनाले छुट्यो माया जाल, यो केवल एउटा लोकगीतको बोल वा साधारण पर्यटकीय गन्तव्यको नाम मात्र होइन । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको मानसपटलमा सुर्खेत भन्नेबित्तिकै झट्ट आउने नाम बुलबुले ताल पनि हो । लोकसंस्कृति गीत–सङ्गीत र प्राकृतिक सौन्दर्यको सङ्गम मानिने यही पर्यटकीय गन्तव्यका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले अन्तर्राष्ट्रियस्तरमै आफ्नो छुट्टै र विशिष्ट पहिचान स्थापित गर्न सफल भएको थियो ।

बुलबुले उद्यानभित्रको प्रमुख विशेषता भनेकै जमिनमुनिबाट ‘बुलबुल’ गर्दै प्राकृतिक रूपमा पानी निस्कनु र १० वटा कलात्मक ढुङ्गेधाराबाट अविरल बगिरहनु हो । तर अहिले त्यही प्राकृतिक स्रोत र इतिहास जोगाएको मुख्य मूल पूर्ण रूपमा सुकेको छ । वर्षायामा समेत यी ऐतिहासिक ढुङ्गेधाराहरू पूर्ण रूपमा सुक्खा हुनुले घुम्न आउने पर्यटकहरूलाई स्तब्ध बनाएको छ ।
बुलबुले क्षेत्रको विकासको इतिहास निकै रोचक छ । वि.सं. २०३० सालमा तत्कालीन राजा वीरेन्द्र शाहको विशेष पहल र चासोमा यस क्षेत्रलाई व्यवस्थित ‘बुलबुले उद्यान’का रूपमा विकास गर्ने कार्यको थालनी गरिएको थियो । त्यसयता यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र मात्र बनेन सुर्खेतको आर्थिक र सामाजिक जीवनको मुख्य मेरुदण्डका रूपमा पनि स्थापित भयो ।
आर्थिक दृष्टिकोणबाट हेर्दा बुलबुले उद्यान वीरेन्द्रनगर नगरपालिकाकै सबैभन्दा प्रमुख आयस्रोत हो । सामान्य दिनहरूमा टिकट बिक्रीबाट १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गर्छ भने शनिबार र अन्य सार्वजनिक बिदाका दिनहरूमा १ लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री हुने गर्दछ ।
यो उद्यानबाट नगरपालिकाले वार्षिक १ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । पर्यटकीय महत्त्वबाहेक, खडेरी वा खानेपानीको सङ्कट परेका बेला स्थानीयहरूका लागि यही ढुङ्गेधारा नुहाउन, लुगा धुन र घरायसी प्रयोजनका लागि पानी भर्ने मुख्य सहारा बन्ने गरेको थियो ।
बुलबुलेको जिर्णोद्धार र सौन्दर्यीकरणका लागि वीरेन्द्रनगर नगरपालिकाले २४ लाख रुपैयाँको लागतमा पुराना संरचनाहरू भत्काएर कलात्मक ढुङ्गेधारा निर्माण गरेको थियो । नगरपालिकाहरूको दाबी अनुसार, तालको प्राकृतिक मूललाई क्षति नपुगोस् भनेर ठूला मेसिनरी साधन प्रयोग नगरी, पुराना संरचना नछोई केवल पानीको चुहावट (लिकेज) रोक्ने र धारालाई आकर्षक बनाउने काम मात्र गरिएको थियो ।
निर्माण सकिएलगत्तै सुरुमा नयाँ धाराबाट पानी बगे पनि अहिले एक्कासि पानी ठप्प हुँदा प्राविधिकहरू समेत अचम्मित परेका छन् । धारा सुक्नुको मुख्य कारक भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतद्वारा सञ्चालित अर्को नयाँ आयोजनालाई ठानिएको छ ।
कार्यालयले प्रवीण निर्माण सेवासँग १ करोड १२ लाख रुपैयाँको ठेक्का सम्झौता गरी मुख्य ताल र बोटिङ हुने तालको बीचमा अर्को नयाँ ताल निर्माण कार्य अगाडि बढाएको थियो । नयाँ ताल विस्तार गर्ने क्रममा जैविक विविधतामा ठूलो आघात पु¥याउँदै आगन्तुक र रैथाने चराचुरुङ्गीको बासस्थानका रूपमा रहेका झन्डै १ सयभन्दा बढी रुखहरू काटिएका थिए ।
जमिनमुनिको प्राकृतिक पानीको तह नयाँ ताल खनिएका कारण गहिरो भएको र सानो तालमुनि रहेको मूल पानीको स्रोत डाइभर्ट (अन्तै मोडिएर) भएर छिरेको प्राविधिकहरूको दाबी छ । वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर यज्ञ कार्कीले पनि सुरुमा नयाँ धाराबाट पानी बगेको भए तापनि बीचको ताल गहिरो गराउँदा प्राकृतिक स्रोत अन्तै मोडिएको हुन सक्ने प्रबल आशङ्का व्यक्त गरेका छन् ।
ऐतिहासिक धारा सुकेपछि यहाँ पुग्ने पर्यटकहरू सुक्खा र रित्तो धारा हेरेर निराश हुँदै फर्कन बाध्य छन् । राष्ट्रिय गौरव र लोकसंस्कृतिका गीतहरूमा गुञ्जिएको स्थानको यो हविगतले सुर्खेतकै साख र पहिचानमा गम्भीर धक्का पु¥याएको छ । घुम्न आउने पर्यटकहरूमा पर्ने नकारात्मक प्रभावलाई ध्यानमा राख्दै नगरपालिकाले केही महिनायता ढुङ्गेधारा क्षेत्रमा नुहाउन र कपडा धुन पूर्ण रूपमा बन्द गराएको छ । बुलबुलेको अस्तित्व जोगाउन अब परम्परागत तरिकाले सम्भव छैन । यसका लागि तत्काल वैज्ञानिक र प्राविधिक कदम चाल्न आवश्यक छ ।







