बालबालिका कुनै पनि समाजको भविष्य हुन् । उनीहरू अपराधी भएर जन्मिँदैनन्, परिस्थितिले उनीहरूलाई त्यसतर्फ धकेल्छ । किशोरावस्था जिज्ञासा, भावनात्मक उतारचढाव र साथीभाइको प्रभाव बढी पर्ने समय हो। यही अवस्थाको फाइदा उठाउँदै लागुऔषध कारोबारीले विद्यालय र कलेज उमेरका किशोरलाई आफ्नो सञ्जालमा तानिरहेका छन् । अभिभावकको व्यस्तता, परिवारभित्र संवादको कमी, सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग, बेरोजगारी, गलत संगत र कमजोर सामाजिक निगरानीले यो जोखिम झन् बढाएको छ । सुर्खेतमा बढिरहेको अपराधको ग्राफले पनि यही संकेत गर्छ । पछिल्लो तीन वर्षमा दुई हजार ६ सयभन्दा बढी अपराधका मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणी, घरेलु हिंसा, साइबर अपराध र आत्महत्याका घटनाले पनि समाज गम्भीर संकटतर्फ उन्मुख रहेको देखाउँछन् । तीन वर्षमा ३ सय ३२ जनाले आत्महत्या गरेको तथ्य आफैंमा भयावह छ । यी सबै घटना एकअर्कासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सामाजिक विघटन, मानसिक तनाव र कमजोर पारिवारिक सम्बन्धसँग जोडिएका छन् ।

लागुऔषध नियन्त्रणलाई प्रहरीको जिम्मेवारीमा मात्र सीमित गर्नु ठूलो भूल हुनेछ । प्रहरीले पक्राउ गर्न सक्छ, मुद्दा चलाउन सक्छ, तर एउटा किशोर किन लागुऔषधको प्रयोगकर्ता वा कारोबारी बन्यो भन्ने प्रश्नको उत्तर समाजले खोज्नुपर्छ । विद्यालयले विद्यार्थीको व्यवहारमा आएको परिवर्तन समयमै पहिचान गर्नुपर्छ। अभिभावकले सन्तानसँग संवाद बढाउनुपर्छ । स्थानीय तहले खेलकुद, सिर्जनात्मक गतिविधि, सीपमूलक तालिम र मनोसामाजिक परामर्शलाई प्राथमिकतामा राख्नुपर्छ । समुदायले पनि आफ्ना बालबालिकाप्रति सामूहिक जिम्मेवारी लिनुपर्छ । लागुऔषधविरुद्धको अभियान केवल पक्राउ र सजायको अभियान बन्नु हुँदैन । यसको केन्द्रमा रोकथाम, पुनस्र्थापना र सचेतना हुनुपर्छ । विद्यालयमा नियमित जनचेतना कार्यक्रम, समुदायस्तरमा निगरानी संयन्त्र, अभिभावक शिक्षा, किशोरमैत्री परामर्श सेवा र पुनस्र्थापना केन्द्रहरूको प्रभावकारी सञ्चालन अहिलेको आवश्यकता हो । कानुनको कठोर कार्यान्वयनसँगै सामाजिक हस्तक्षेप पनि उत्तिकै आवश्यक छ ।
कुनै पनि समाजको भविष्य त्यसका बालबालिकाले निर्धारण गर्छन् । आज लागुऔषधको जालोमा फसेको एउटा बालक वा बालिका केवल एउटा मुद्दाको तथ्यांक होइन, समाजले गुमाउन लागेको एउटा सम्भावना हो। यदि अहिले नै राज्य, परिवार, विद्यालय र समुदाय गम्भीर भएनन् भने भोलिका दिनमा यो समस्या नियन्त्रणभन्दा बाहिर जान सक्छ । त्यसैले सुर्खेतमा बढ्दै गएको लागुऔषधको संकटलाई सामान्य सुरक्षा चुनौतीका रूपमा होइन, भविष्यको पुस्तामाथि आइपरेको सामाजिक संकटका रूपमा बुझेर तत्काल प्रभावकारी कदम चाल्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।







