सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत विकास, शिक्षा, स्वास्थ्य र व्यापारको केन्द्रका रूपमा विस्तार भइरहेको छ । जनसंख्या बढेको छ, बजार फैलिएको छ, नयाँ अवसर सिर्जना भएका छन् । तर विकासको यही गतिसँगै अर्को भयावह यथार्थ पनि विस्तार भइरहेको छ, त्यो हो अपराधजन्य घटनाहरु । ती अपराधमध्ये सबैभन्दा चिन्ताजनक पक्ष लागुऔषधको जालोमा फस्दै गएका बालबालिका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले यही गम्भीर संकेत दिएको हो ।

प्रहरीका अनुसार लागुऔषधका मुद्दा मात्र बढेका छैनन्, यसमा संलग्न हुने बालबालिकाको संख्या पनि बढ्न थालेको छ । यो तथ्यले अब लागुऔषधलाई कानुनी वा सुरक्षा चुनौतीका रूपमा मात्र नभई सामाजिक, पारिवारिक र शैक्षिक संकटका रूपमा हेर्नुपर्ने अवस्था सिर्जना गरेको हो ।
विगत तीन वर्षमा दोब्बरजस्तै लागुऔषधका मुद्दा बढेका छन् । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा लागुऔषधसम्बन्धी १९२ वटा मुद्दा दर्ता भएका थिए । त्यस वर्ष चार जना बालक संलग्न रहेको तथ्यांक छ । त्यसको अर्को वर्ष ०८१/८२ मा लागुऔषधका मुद्दा बढेर ३०६ पुगेका थिए । जसमा बालकको संलग्नता एक जनामा सीमित देखिए पनि पछिल्लो आर्थिक वर्ष ०८२/८३ मा अवस्था झन् गम्भीर बनेको छ । यो वर्ष ४२१ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन्, जसमा सात जना बालक र दुई जना बालिका संलग्न रहेको प्रहरीको रिपोर्टले देखाएको छ ।
तीन वर्षको अवधिमा लागुऔषधका मुद्दा १९२ बाट ४२१ पुगेका छन् । अर्थात् करिब एक सय २० प्रतिशतले वृद्धि भएको छ । अझ चिन्ताको विषय, यस अपराधमा अब किशोर–किशोरीसमेत जोडिन थालेका छन् । बालबालिका लागुऔषध सेवनकर्ता मात्र नभई ओसारपसार, कारोबार वा अन्य आपराधिक गतिविधिमा समेत प्रयोग हुन थालेको संकेत तथ्यांकले दिएको छ ।
सामाजिक क्षेत्रका जानकारहरूका अनुसार किशोरावस्था जिज्ञासा, साथीको प्रभाव र भावनात्मक अस्थिरताको समय हो । यही अवस्थाको फाइदा उठाउँदै लागुऔषध कारोबारीले विद्यालय उमेरका बालबालिकालाई लक्षित गर्ने गरेको देखिन्छ । सहर विस्तार, अभिभावकको व्यस्तता, परिवारसँगको संवादको कमी, मोबाइल र सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग, बेरोजगारी तथा गलत संगतजस्ता कारणले किशोरहरू जोखिममा पर्ने सम्भावना बढिरहेको छ ।
विशेषगरी सुर्खेतजस्तो तीव्र शहरीकरण भइरहेको जिल्लामा ग्रामीण क्षेत्रबाट अध्ययन वा रोजगारीका लागि आउने युवायुवती र किशोरहरू नयाँ वातावरणमा असुरक्षित बन्ने जोखिम पनि बढ्दो देखिन्छ । जसले अपराध बढ्दै गएका छन्, भने चुनौती पनि थपिँदै गएका छन् । तथ्यांक अनुसार लागुऔषध मात्र नभई समग्र अपराधको ग्राफ पनि उकालो लागिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष ०८२/८३ मा जिल्लाभित्र अपराध १.१५ प्रतिशतले बढेको छ । तीन वर्षमा दुई हजार ६०३ वटा अपराधजन्य मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०८०/८१ मा ८२० मुद्दा दर्ता भएकोमा ०८१÷८२ मा ८३४ पुगेका छन् । पछिल्लो आर्थिक वर्षमा यो संख्या बढेर ९४९ पुगेको छ ।
प्रहरीका अनुसार अधिकांश घटना योजनाबद्ध आपराधिक मानसिकताका कारण हुने गरेका छन् । कानुनबारे जानकारीको अभावका कारण भएका घटना तुलनात्मक रूपमा कम रहेको प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले प्रहरीमा दर्ता भएका अधिकांश मुद्दा आपराधिक मानसिकताबाट प्रेरित देखिएको बताए । कतिपय घटना कानुनको जानकारी नहुँदा भए पनि त्यस्ता घटना धेरै नभएको उनको भनाइ छ ।
बढ्दै सामाजिक संकट
सुर्खेतमा अपराधका अन्य सूचकहरू पनि उत्तिकै चिन्ताजनक छन् । तीन वर्षमा २४४ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०८२/८३ मा मात्रै ९१ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएका छन्, जुन अघिल्ला वर्षको तुलनामा वृद्धि हो ।
कर्तव्य ज्यानसम्बन्धी १९ मुद्दा दर्ता भएका छन्, भने तीन वर्षमा घरेलु हिंसाका एक हजार ३८२ र सामाजिक हिंसासम्बन्धी एक हजार ३५७ मुद्दा प्रहरीमा पुगेका छन् । पछिल्लो आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ७९१ घटना दर्ता भएका छन् । यसमा फेसबुक ह्याक, विद्युतीय ठगी तथा मोबाइल हराउने वा चोरी हुनेजस्ता घटना समावेश छन् ।
यस्तै आत्महत्याको डरलाग्दो चित्र पनि प्रहरीले देखाएको छ । चार लाख १५ हजारभन्दा बढी जनसंख्या रहेको सुर्खेतमा आत्महत्या पनि अर्को गम्भीर सामाजिक समस्या बनेको हो । प्रहरीका अनुसार तीन वर्षमा ३३२ जनाले आत्महत्या गरेका छन् । जसमा आर्थिक वर्ष ०८०/८१ मा १११, ०८१/८२ मा ११४ र ०८२/८३ मा १०७ जनाले आत्महत्या गरेका छन् ।
सबैभन्दा डरलाग्दो तथ्य आत्महत्या गर्नेमध्ये ८९ प्रतिशत अर्थात् २९५ जनाले झुन्डिएर ज्यान गुमाएका छन् । लागुऔषधमा बालबालिकाको संलग्नता बढ्नु कुनै सामान्य आपराधिक तथ्यांक भने होइन । यो भविष्यको पुस्तामाथि परेको गम्भीर सामाजिक खतरा पनि हो । यसलाई नियन्त्रण गर्न प्रहरीको कारबाही मात्र पर्याप्त हुँदैन ।
विद्यालयमा नियमित सचेतना, अभिभावकसँगको संवाद, समुदायस्तरमा निगरानी, बालमैत्री परामर्श सेवा, खेलकुद तथा सिर्जनात्मक गतिविधिमा किशोरहरूको सहभागिता बढाउने नीतिगत प्रयास आवश्यक रहेको सरोकारवाला बताउँछन् । किनकी हाल लागुऔषधको चक्रमा फसेको एउटा बालक वा बालिका भोलिको अपराधी मात्र होइन, समाजले गुमाउन लागेको एउटा सम्भावना पनि हो । सुर्खेतको बढ्दो अपराधको तथ्यांकभित्र लुकेको सबैभन्दा ठूलो चेतावनी पनि यही हो । यसमा परिवारदेखि समाज र सरकार गम्भिर बन्न जरुरी छ ।








