२०८३ साउन ११ , सोमबार

कर्णालीबाट पहिलो १८ एमबिबिएस डाक्टर उत्पादन



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले पहिलो पटक एमबिबिएस अध्ययन पूरा गरेका १८ जना चिकित्सक उत्पादन गर्दै कर्णाली प्रदेशको स्वास्थ्य शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । प्रतिष्ठानले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार पहिलो ब्याचका २० विद्यार्थीतर्फ १८ जना सफल भएका हुन् ।

विगतमा विशेषज्ञ चिकित्सकको अभावका कारण सामान्य उपचारसमेत नपाएर नागरिकले ज्यान गुमाउने अवस्था रहेको कर्णाली अहिले आफ्नै भूमिमा चिकित्सक उत्पादन गर्न सक्षम बनेको छ । यस उपलब्धिले कर्णाली मात्र नभई समग्र देशको स्वास्थ्य सेवामा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ । प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. सूर्यमान मेन्याङ्म्बोले पहिलो ब्याचका एमबिबिएस चिकित्सक उत्पादन हुनु कर्णाली र राष्ट्रका लागि गर्वको विषय भएको बताए ।

उनका अनुसार सफल विद्यार्थीहरूले केही महिनासम्म प्रतिष्ठानमै इन्टर्नसिप पूरा गर्नेछन् । साथै, प्रतिष्ठानमा नेपालीसँगै भारतबाट पनि विद्यार्थी अध्ययनका लागि आउन थालेकाले आगामी वर्षदेखि एमबिबिएस अध्ययनको सिट संख्या बढाउन सरकारसँग पहल गरिने जानकारी दिए ।  प्रतिष्ठानका सहायक प्राध्यापक लोकजन सिंहका अनुसार हाल प्रतिष्ठानमा एमबिबिएसको छैटौँ ब्याच अध्ययनरत छ ।

पहिलो ब्याचमा २०, दोस्रो र तेस्रोमा ३०–३० तथा चौथो, पाँचौँ र छैटौँ ब्याचमा ५०–५० विद्यार्थी अध्ययन गरिरहेका छन्  । यससँगै हालसम्म कुल २३० विद्यार्थी एमबिबिएस कार्यक्रममा आबद्ध छन् । २०७८ साल मङ्सिर २६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिष्ठानमा एमबिबिएस कार्यक्रमको औपचारिक उद्घाटन गरेकी हुन् ।

प्रतिष्ठानका संस्थापक पहलकर्ता तथा पूर्व संविधानसभा सदस्य नरेश भण्डारीले एक समय चिकित्सकको अभाव झेलिरहेको जुम्ला आज चिकित्सक उत्पादन गर्ने केन्द्रका रूपमा स्थापित हुनु गौरवको विषय भएको बताए । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले पनि प्रतिष्ठानले कर्णालीको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

दोस्रो ब्याचकी विद्यार्थी सिराहाकी नुरुजाह खातुनले जुम्लामा उच्चस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्ने अवसर आफ्नो जीवनको अविस्मरणीय उपलब्धि भएको बताइन् । यस्तै, पहिलो ब्याचका विद्यार्थी रुपन्देहीका समीरराज जोशीले कर्णालीमा अध्ययनको अनुभव सकारात्मक रहेको उल्लेख गर्दै पूर्वाधार र सडक सञ्जालको थप विकास आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार