२०८३ साउन १० , आइतबार

डोल्पोबुद्धमा पहिलो संस्थागत सुत्केरी



डोल्पा । दुर्गम हिमाली जिल्ला डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा पहिलो पटक स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा सफलतापूर्वक सञ्चालन भएको छ । गाउँपालिका तिन स्थित धो स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा स्थानीय ३१ वर्षीया धावा आङमो लामाले शुक्रबार सुरक्षित रूपमा शिशुलाई जन्म दिएपछि यस क्षेत्रको स्वास्थ्य सेवामा नयाँ इतिहास बनेको हो ।

संघीयता कार्यान्वयन भएको करिब एक दशकपछि गाउँपालिकाभित्रकै स्वास्थ्य संस्थामा पहिलो संस्थागत सुत्केरी सेवा सम्भव भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । धो स्वास्थ्य चौकीका प्रमुख चन्द्रराज बुढाका अनुसार आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनले सीमित स्रोत–साधन र कठिन भौगोलिक अवस्थाका बीच सम्पन्न भएको यो प्रसूति स्थानीय स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

उच्च हिमाली क्षेत्रको कठोर मौसम, न्यून तापक्रम तथा आवश्यक पूर्वाधारको अभावका बाबजुद हेल्थ असिस्टेन्ट कार्मा साङमो थापा भोटे, अहेब तथा अ.न.मि. कर्मा साङमो लामा लगायतको स्वास्थ्यकर्मी टोलीले सुरक्षित प्रसूति गराएको हो । स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र विकका अनुसार दक्ष स्वास्थ्य जनशक्तिको कमी, प्रसूति सामग्रीको अभाव, यातायातको कठिन पहुँच तथा सामाजिक परम्पराका कारण यसअघि अधिकांश महिलाले घरमै सुत्केरी हुने गरेका थिए ।

धार्मिक तथा सांस्कृतिक विश्वासका कारण स्वास्थ्य संस्थामा पुग्न हिच्किचाउने प्रवृत्तिले पनि संस्थागत प्रसूति विस्तारमा चुनौती थपेको उनकाे भनाइ छ । यद्यपि, धो स्वास्थ्य चौकीमा भएको पहिलो संस्थागत सुत्केरीलाई स्थानीय स्वास्थ्य सेवामा आएको सकारात्मक परिवर्तनका रूपमा हेरिएको छ । गाउँपालिकाले आगामी दिनमा बर्थिङ सेन्टरलाई थप व्यवस्थित बनाउने, आवश्यक उपकरण उपलब्ध गराउने तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्दै सुरक्षित मातृत्व सेवाको पहुँच विस्तार गर्ने योजना अघि सारेको जनाएको छ ।

स्थानीय स्वास्थ्यकर्मीहरूले नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामै प्रसूति र नवजात शिशुको उचित हेरचाहलाई प्राथमिकता दिन आग्रह गर्दै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेका छन् । डोल्पोबुद्धमा भएको यो पहिलो संस्थागत सुत्केरीलाई दुर्गम हिमाली क्षेत्रमा सुरक्षित मातृत्व सेवाको नयाँ अध्यायको सुरुआतका रूपमा लिइएको छ ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार