२०८३ साउन ११ , सोमबार

स्वयंसेवक र शिक्षकको क्षमता अभिवृद्धि तालिम



रुकुम पश्चिम । सानीभेरी गाउँपालिकामा पालिकास्तरीय स्वयंसेवक ब्यूरो तथा शिक्षक नायक एवं सहायक शिक्षक नायकहरूका लागि आयोजित चारदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । साउन छ गतेदेखि नाै गतेसम्म सञ्चालन भएको तालिम सानीभेरी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम जिल्ला शाखा तथा दिगो विकासका लागि स्वास्थ्य अनुकूलन तथा उत्थानशीलता (सुधार) परियोजना को संयुक्त साझेदारीमा आयोजना गरिएको हो ।

तालिमको मुख्य उद्देश्य स्वयंसेवक तथा शिक्षकहरूको ज्ञान, सीप र नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै विपद् व्यवस्थापन, मानवीय सेवा, विद्यालय सुरक्षा तथा समुदायमा आधारित रेडक्रस गतिविधिलाई प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ । प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला स्थानीय स्तरमै सक्षम जनशक्ति तयार पार्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको परियोजना संयोजक यदुकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार विद्यालय र समुदायमा कार्यरत स्वयंसेवक तथा शिक्षकहरूले विपद्का बेला तत्काल उद्धार, प्राथमिक उपचार, जनचेतना अभिवृद्धि तथा समन्वयात्मक भूमिका निर्वाह गर्न सकून् भन्ने उद्देश्यले सैद्धान्तिक र प्रयोगात्मक दुवै प्रकारका प्रशिक्षण प्रदान गरिएको हो । चार दिनसम्म सञ्चालन भएको तालिममा विभिन्न विषयगत विज्ञ तथा अनुभवी प्रशिक्षकहरूले सहजीकरण गरेका थिए ।

तालिम प्रशिक्षक शंकर भट्टराईका अनुसार शिक्षक नायक तथा सहायक शिक्षक नायकहरूलाई रेडक्रस आन्दोलनको इतिहास, सात आधारभूत सिद्धान्त, जुनियर रेडक्रस सर्कल गठन र सञ्चालन प्रक्रिया, शिक्षक नायकको जिम्मेवारी, विद्यालयमा विपद् जोखिम न्यूनीकरण, सुरक्षित तथा तीनतारे विद्यालय अवधारणा, विपद् व्यवस्थापनसम्बन्धी शब्दावली तथा व्यवहारिक अभ्यासका विषयमा प्रशिक्षण दिइएको थियो ।

यसले विद्यालयमा विद्यार्थीहरूलाई विपद् सचेतना र मानवीय सेवाका गतिविधिमा सक्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।  यसैगरी, स्वयंसेवक ब्यूरोका सदस्यहरूलाई खोज तथा उद्धार, प्राथमिक उपचार, विपद्का समयमा प्रभावित समुदायमा राहत तथा सहयोग व्यवस्थापन, जोखिम मूल्याङ्कन, सुरक्षित स्थानान्तरण, आपत्कालीन समन्वय र स्वयंसेवक परिचालनसम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम जिल्ला शाखाले जनाएको छ ।

तालिमका क्रममा वास्तविक विपद्का घटनालाई आधार बनाएर अभ्याससमेत गराइएको थियो, जसले सहभागीहरूलाई व्यवहारिक अनुभव हासिल गर्न मद्दत पुगेको प्रशिक्षकहरूको भनाइ छ । तालिममा सानीभेरी गाउँपालिकाका १३ वटा माध्यमिक विद्यालयबाट शिक्षक नायक र सहायक शिक्षक नायक गरी २६ जनाको सहभागिता रहेको थियो । स्वयंसेवकहरूका लागि भने छुट्टै समूह बनाएर समानान्तर रूपमा तालिम सञ्चालन गरिएको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालय, समुदाय तथा विपद्को अवस्थामा व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आयोजकका अनुसार पछिल्ला वर्षहरूमा प्राकृतिक विपद्का घटना बढ्दै गएकाले स्थानीय तहमा दक्ष स्वयंसेवक र प्रशिक्षित शिक्षकको आवश्यकता अझ बढेको छ । विद्यालय र समुदायलाई विपद्प्रति सचेत, सुरक्षित र उत्थानशील बनाउन यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ । आगामी दिनमा पनि स्थानीय तह, विद्यालय र समुदायसँग समन्वय गरी यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइने नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम जिल्ला शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार