रुकुम पश्चिम । सानीभेरी गाउँपालिकाका दुई विद्यालयका शौचालयमा लगातारको वर्षासँगै गएको पहिरोले क्षति पुर्याएको छ । पहिरोका कारण हालै निर्माण गरिएका शौचालय प्रयोग गर्न नसकिने अवस्थामा पुगेपछि विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई दैनिक रूपमा समस्या भोग्नुपरेको छ । सानीभेरी गाउँपालिका ११ स्थित जनकल्याण माध्यमिक विद्यालयको पछाडिबाट आएको पहिरोले नयाँ निर्माण गरिएको तीन कोठे पक्की शौचालयमा क्षति पुर्याएको विद्यालयका प्रधानाध्यापक धनसिंह खड्काले जानकारी दिए ।
उनका अनुसार लगातारको वर्षाका कारण विद्यालयमाथिबाट आएको पहिरोले शौचालयको संरचनामा असर पुगेको हो । उक्त शौचालय सानीभेरी गाउँपालिका र सुस्वा परियोजनाको साझेदारीमा करिब १० लाख रुपैयाँको लागतमा गत असार महिनामा निर्माण गरिएको थियो नयाँ शौचालय सञ्चालनमा आएपछि विद्यार्थी र शिक्षकलाई सहज हुने अपेक्षा गरिएको भए पनि पहिरोका कारण त्यसको प्रयोग प्रभावित भएको छ ।
यसअघि २०८० सालको जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पले विद्यालयको पुरानो शौचालय पूर्ण रूपमा भत्काएको थियो । त्यसपछि शिक्षक र विद्यार्थीको सक्रियतामा अस्थायी रूपमा एक कोठे कच्ची शौचालय निर्माण गरेर प्रयोग गरिँदै आएको थियो । विद्यालयमा अध्ययनरत दुई सय ९५ जना विद्यार्थी तथा १३ जना शिक्षक–कर्मचारीलाई एउटै अस्थायी शौचालयले पर्याप्त सेवा दिन नसक्दा निकै असहज अवस्था सिर्जना भएको थियो । त्यस समस्यालाई समाधान गर्न हालै नयाँ शौचालय निर्माण गरिएको भए पनि पहिरोले फेरि समस्या थपिएको छ ।
यस्तै, सानीभेरी गाउँपालिका पाँच स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, घापागारको दुई कोठे शौचालय पनि वर्षासँगै आएको पहिरोका कारण क्षतिग्रस्त भएको छ । पहिरोले शौचालयको संरचनामा असर पुर्याएपछि यसको प्रयोगमा कठिनाइ भएको विद्यालय स्रोतले जनाएको छ । स्थानीयवासी तथा विद्यालय प्रशासनले वर्षायाममा विद्यालय क्षेत्र उच्च जोखिममा पर्ने भएकाले पहिरो नियन्त्रणका लागि तत्काल आवश्यक संरक्षणका काम अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले क्षतिग्रस्त शौचालयको शीघ्र मर्मत तथा पुनःनिर्माण गरी विद्यार्थी र शिक्षकका लागि सुरक्षित तथा सहज शौचालयको व्यवस्था गर्न आग्रह गरेका छन् ।









