२०८३ साउन ११ , सोमबार

नाम्खाको झुलामा आधुनिक गुम्बा निर्माण,



सिमकोट । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका तिन स्थित झुला गाउँमा बौद्ध धर्मावलम्बी समुदायको धार्मिक आस्था, संस्कार र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आधुनिक गुम्बा निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निर्माण गरिएको गुम्बाले अब तीनवटा बस्तीका स्थानीयलाई सामूहिक रूपमा पूजा–आराधना, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहज हुने भएको छ ।

कर्णालीका हिमाली भेग, विशेषगरी हुम्ला, मुगु र डोल्पामा बौद्ध धर्मसँग जोडिएका गुम्बाहरू धार्मिक आस्थाका केन्द्र मात्र नभई स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको आधारका रूपमा परिचित छन् । यही आवश्यकतालाई मध्यनजर गर्दै नाम्खा गाउँपालिकाले झुला गाउँमा नयाँ गुम्बा निर्माणको योजना अघि बढाएको हो । नाम्खा गाउँपालिकाका सब–इन्जिनियर समिर लामाका अनुसार झुला बस्तीमा हालसम्म सामूहिक रूपमा पूजा–पाठ गर्न उपयुक्त गुम्बा नहुँदा स्थानीयले कठिनाइ भोग्दै आएका थिए ।

फाेटाे सिमकाेट टाइम्स

बौद्ध धर्मावलम्बीका लागि अत्यावश्यक धार्मिक संरचना अभाव भएपछि गाउँपालिकाले आधुनिक सुविधासहितको गुम्बा निर्माण गरेको उनले बताए । उक्त गुम्बाबाट खगालगाउँ, गुम्बा र लामा खोल्सी गरी तीन बस्तीका करिब एक सय २० घरधुरी लाभान्वित हुनेछन् । ती बस्तीका धेरैजसो ज्येष्ठ नागरिक धार्मिक अनुष्ठानका लागि झुला गाउँमा बसोबास गर्दै आए पनि सामूहिक पूजा सञ्चालन गर्न उपयुक्त संरचना नहुँदा समस्या हुने गरेको थियो ।

गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमै एक करोड एक लाख रुपैयाँ बजेट विनियोजन गरी सार्वजनिक खरिद प्रक्रियामार्फत गुम्बा निर्माणको काम अघि बढाएको थियो । हाल अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको छ भने केही सामान्य संरचनागत काम मात्र बाँकी रहेको गाउँपालिकाले जनाएको छ । सुरुआतमा सामुदायिक भवनका रूपमा योजना स्वीकृत गरिएको उक्त संरचनालाई अहिले औपचारिक रूपमा गुम्बाका रूपमा दर्ता तथा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

निर्माण सम्पन्नतर्फ उन्मुख गुम्बाको आइतबार गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अध्यक्ष लामाले धार्मिक सम्पदाको संरक्षणसँगै स्थानीय संस्कृति र पहिचानलाई जोगाउन यस्ता पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । स्थानीयवासीले पनि गुम्बा निर्माणसँगै अब नियमित पूजा–आराधना, धार्मिक शिक्षा, सांस्कृतिक कार्यक्रम तथा समुदायका विभिन्न धार्मिक गतिविधि आफ्नै गाउँमा सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । हिमाली कर्णालीको मौलिक बौद्ध संस्कृति संरक्षणमा यस गुम्बाले दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार