सल्यान । सल्यान र जाजरकोटलाई जोड्ने भेरी नदीमाथिको झोलुङ्गे पुल भासिएको करिब पाँच वर्ष बितिसक्दा पनि मर्मत वा पुनर्निर्माण हुन नसक्दा स्थानीय बासिन्दा दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य भएका छन् । पुलको जीर्ण अवस्थाले स्थानीयको दैनिकी, शिक्षा, स्वास्थ्य र व्यापारसमेत प्रभावित बनेको छ । बर्खायाममा आएको भीषण बाढीले पुलको पिल्लरसहित मुख्य भाग भासिएपछि पुलको बीच भाग नदीमाथि झुन्डिएको अवस्थामा छ ।
जोखिमपूर्ण भए पनि वैकल्पिक बाटो वा अर्को पुल नहुँदा स्थानीयले यही पुल प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । वनगाढ कुपिन्डे नगरपालिका दुई का वडाध्यक्ष मानबहादुर खत्रीका अनुसार बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्लेलगायत तीन वडाका विभिन्न बस्तीका नागरिक यही पुल भएर दैनिक ओहोरदोहोर गर्छन् । उनले अर्को विकल्प नहुँदा दैनिक आठदेखि १० जना विद्यार्थीसमेत पढाइका लागि यही पुल तरेर सुर्खेततर्फ जाने गरेको बताए ।
२०७२ सालमा एक गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएको एक सय ५७ मिटर लामो उक्त झोलुङ्गे पुलले वर्षौंसम्म सल्यान र जाजरकोटका दुर्गम बस्तीलाई जोड्ने प्रमुख माध्यमको रूपमा सेवा दिएको थियो । पुल सञ्चालनमा आएपछि स्थानीयको आवतजावत, कृषि उपजको बजारीकरण, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच निकै सहज बनेको थियो । स्थानीयका अनुसार अहिले पुलको बीच भागमा पुग्नेबित्तिकै तल उर्लिएको भेरी नदी देख्दा डरले खुट्टा नै काँप्ने अवस्था छ । भारी बोकेर हिँड्न त परै जाओस्, वर्षायाममा नदीको बहाव बढेका बेला पुल प्रयोग गर्नु नै जोखिमपूर्ण हुने गरेको उनीहरू बताउँछन् ।
बिरामी, बालबालिका र ज्येष्ठ नागरिकलाई पुल वारपार गराउनु मृत्युको मुखमा धकेलेजस्तै हुने स्थानीयको गुनासो छ । यसैगरी गाउँमा उत्पादन हुने तरकारी, अन्नबाली तथा खसीबोका जाजरकोटको छेडाबजारलगायतका बजारसम्म पुर्याउन किसानले ठूलो सास्ती खेपिरहेका छन् । पुलको अवस्था सुधार गर्न स्थानीयले पटक–पटक सम्बन्धित निकायमा मर्मत तथा पुनर्निर्माणको माग गरे पनि हालसम्म कुनै पहल नभएको वडाध्यक्ष खत्रीले बताए ।
उनका अनुसार स्थानीयको भेला र निर्णयसहित पालिका, प्रदेश र संघीय सरकारसम्म मागपत्र पठाइए पनि कुनै निकायले चासो दिएको छैन । सल्यान र जाजरकोट जोड्ने महत्वपूर्ण पूर्वाधार वर्षौंदेखि अलपत्र पर्दा स्थानीयमा निराशा मात्र होइन, सरकारी निकायप्रति असन्तुष्टि पनि बढ्दै गएको छ । कुनै पनि बेला ठूलो मानवीय दुर्घटना हुन सक्ने जोखिम रहेकाले पुलको तत्काल मर्मत वा नयाँ पुल निर्माण गर्न स्थानीयले सम्बन्धित निकायसँग पुनः आग्रह गरेका छन् ।









