सिमकोट । नेपाल–चीन सीमा क्षेत्रमा रहेको यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा निर्धारण गरिएको लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । सीमित व्यापारिक गतिविधि हुने यो नाकाबाट अपेक्षाभन्दा बढी राजस्व उठेपछि कार्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार भन्सार विभागले गत आर्थिक वर्षका लागि कार्यालयलाई छ लाख छ हजार पाँच सय ८० रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । तर कार्यालयले लक्ष्यलाई धेरै माथि उकास्दै २० लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तीन गुणाभन्दा बढी रहेको उनले जानकारी दिए ।
उनका अनुसार हिल्सा–यारी नाकामा भन्सार कार्यालय स्थापना भएयता एकै आर्थिक वर्षमा सङ्कलन भएको यो सबैभन्दा बढी राजस्व हो । व्यापारिक गतिविधि सीमित भए पनि निर्माण सामग्रीको आयात बढेकाले राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको कार्यालयको भनाइ छ ।गत आर्थिक वर्षमा चीनको ताक्लाकोटबाट हुम्लाका लागि आवश्यक निर्माण सामग्री, विशेषगरी सिमेन्ट र छड ठूलो परिमाणमा आयात गरिएको थियो । त्यसबाहेक दूध, चिया, जुस, जुत्ता, पीभीसी ब्ल्याङ्केट, लत्ताकपडा, खेलौना तथा अन्य दैनिक उपभोग्य सामग्रीसमेत यही नाकाबाट भित्रिएका थिए । यी वस्तुको आयात बढेसँगै भन्सार राजस्वमा पनि उल्लेख्य वृद्धि भएको कार्यालयले जनाएको छ ।
यारी नाका मुख्य रूपमा हुम्लाका लागि चीनबाट आयात हुने सामानको प्रवेशद्वारका रूपमा प्रयोग हुँदै आएको छ। सडक पहुँच क्रमशः सहज बन्दै जाँदा निर्माण सामग्री र उपभोग्य वस्तुको आयात बढिरहेको कार्यालयको भनाइ छ । यसले आगामी वर्षहरूमा पनि राजस्व सङ्कलन थप वृद्धि हुने अपेक्षा गरिएको छ । यसअघि आर्थिक वर्ष २०८१/०८२ मा भन्सार विभागले ८३ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । त्यस वर्ष कार्यालयले लक्ष्यभन्दा धेरै बढी अर्थात् छ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । लगातार दोस्रो वर्ष पनि लक्ष्यभन्दा उल्लेख्य बढी राजस्व उठेपछि यारी भन्सार कार्यालयको कार्यसम्पादन प्रभावकारी बन्दै गएको देखिएको छ ।







