२०८३ साउन १३ , बुधबार

बालविवाह रोक्न १२ बुँदे प्रतिबद्धता



डोल्पा । जिल्लाकाे  त्रिपुरासुन्दरी नगरपालिकामा बालविवाह रोकथाम तथा न्यूनीकरणलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरूले १२ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । बालविवाहविरुद्ध साझा अभियानलाई थप सशक्त बनाउने उद्देश्यले आयोजित गोष्ठीपछि सहभागीहरूले सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

नगरप्रमुख जनचन्द्र रोकायाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नं. एक र दुईका जनप्रतिनिधि, माध्यमिक विद्यालयका शिक्षक, बालक्लब तथा किशोरी क्लबका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, धामी–झाँक्री, कार्यपालिका सदस्य, मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधिलगायत ३६ जनाको सहभागिता रहेको थियो ।

गोष्ठीमा बालविवाहका सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी असर, यसका कारण र रोकथामका प्रभावकारी उपायबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले बालविवाहले किशोर–किशोरीको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था र भविष्यमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको अन्त्यका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सहजीकरण मानव अधिकार रक्षक सञ्जालका सदस्य तथा गरिब तथा दलित उत्थान सेवा समिति डोल्पाका कार्यकारी निर्देशक अधिवक्ता रणबहादुर कार्की र प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरले गरेका थिए । उनीहरूले बालविवाह नियन्त्रणका लागि कानुनी व्यवस्था, स्थानीय तहको भूमिका र समुदायको सक्रिय सहभागिताबारे जानकारी गराएका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरूले बालविवाह रोकथामका लागि तयार गरिएको १२ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आफ्नो क्षेत्रबाट सचेतना अभिवृद्धि, समन्वय र निगरानीलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहभागीहरूको तर्फबाट वडा नं. दुईका कार्यवाहक अध्यक्ष रणबहादुर बुढाले बालविवाह अन्त्यका लागि वडास्तरमा जनप्रतिनिधि, विद्यालय, अभिभावक र समुदायबीच समन्वय बढाई प्रभावकारी अभियान सञ्चालन गरिने बताए । नगरप्रमुख जनचन्द्र रोकायाले नगरपालिकाले बालविवाह रोकथामलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै यस अभियानमा सहयोग र सहकार्य गर्ने सामाजिक विकास कार्यालय डोल्पा तथा बालविवाहविरुद्ध साझा अभियान सञ्जाल डोल्पाप्रति आभार व्यक्त गरे । उनले बालविवाहमुक्त समाज निर्माणका लागि सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार