सल्यान । खाना पकाउने ग्यासको अभाव समाधान गर्न जिल्ला प्रशासन कार्यालय सल्यानले ग्यास डिलर व्यवसायीलाई उपभोक्तालाई सहज र पारदर्शी रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ । जिल्लामा ग्यास अभावको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा ग्यास डिलर व्यवसायी, उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र सञ्चारकर्मीबीच छलफल भएको थियो ।
छलफलमा ग्यास आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउने विषयमा विभिन्न निर्णय गरिएको छ । व्यवसायीका अनुसार गत चैत महिनादेखि सल्यानमा ग्यास सिलिन्डरको आपूर्ति करिब ६० प्रतिशतले घटेको छ । लामो समयदेखि पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् भने बजारमा मूल्य बढ्ने अवस्था पनि देखिएको छ । छलफलमा प्रमुख जिल्ला अधिकारी सापकोटाले आपूर्ति भएको ग्यास निष्पक्ष र व्यवस्थित रूपमा वितरण गर्न व्यवसायीलाई निर्देशन दिए ।
उनले ग्यास सिलिन्डर रातिको समयमा अनलोड नगर्न, वितरणको स्पष्ट अभिलेख राख्न र उपभोक्तालाई पालो प्रणालीका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरे । साथै कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले ग्यास मौज्दात नराख्न पनि व्यवसायीलाई सचेत गराए । उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुले ग्यास अभावको अवस्थालाई फाइदा उठाउँदै उपभोक्तालाई समस्या पार्ने काम नगर्न व्यवसायीलाई आग्रह गरे । उनले उपलब्ध ग्यास सबै उपभोक्ताले समान रूपमा पाउने गरी निष्पक्ष वितरण प्रणाली लागू गर्नुपर्ने बताए ।
छलफलले हाल आपूर्ति भइरहेका मनकामना र राप्ती ग्याससँगै भेरी ग्यासको आपूर्ति बढाउन समन्वय गर्ने निर्णय गरेको छ । साथै राति आठ बजेदेखि बिहान चार बजेसम्म ग्यास सिलिन्डर अनलोड नगर्ने तथा घरायसी र व्यावसायिक प्रयोजनका लागि वितरण हुने ग्यासको छुट्टाछुट्टै विवरण राख्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्णयको प्रभावकारी कार्यान्वयन भएमा ग्यास वितरण प्रणाली व्यवस्थित हुने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बन्ने विश्वास व्यक्त गरेको छ ।









