सुर्खेत । वीरेन्द्रनगरमा खाना पकाउने एलपी ग्यास लिन उपभोक्ताको लामो भीड लाग्न थालेको छ । पछिल्लो एक सातादेखि ग्यास डिलरमा उपभोक्ता राति दुई बजेदेखि खाली सिलिन्डर लिएर लाइनमा बस्न बाध्य भएका छन् । कतिपयले एक–दुई दिनसम्म कुर्दा मात्रै ग्यास सिलिन्डर पाउने गरेका छन् । स्थानीयका अनुसार विगतमा सहज रूपमा पाइने ग्यास अहिले लामो प्रतीक्षापछि मात्र उपलब्ध हुन थालेको छ ।
सहरी क्षेत्रमा खाना पकाउने प्रमुख माध्यम नै एलपी ग्यास भएकाले यसको अभाव हुँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ । ग्रामीण क्षेत्रमा दाउरा तथा अन्य वैकल्पिक इन्धनको प्रयोग भए पनि सहरी क्षेत्रमा त्यस्ता विकल्प सहज उपलब्ध छैनन् । वीरेन्द्रनगर नगरपालिका नाै की भविका चौधरीले चार दिनसम्म लाइनमा बसेपछि बल्ल ग्यास पाएको बताइन् ।
ग्यास नहुँदा चाउचाउ, बिस्कुट र चिउराको भरमा गुजारा चलाउनुपरेको उनको भनाइ छ । उनले लामो समयपछि ग्यास पाएपछि ठूलो राहत महसुस भएको बताइन् । उनीजस्तै धेरै उपभोक्ताले ग्यास अभावका कारण समस्या भोगिरहेका छन् । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सहज पहुँच नभएका नागरिक बढी प्रभावित भएका छन् । पहुँच हुनेहरूले अन्य माध्यमबाट ग्यास व्यवस्थापन गरे पनि कमजोर वर्गका उपभोक्ताले बढी सास्ती खेप्नुपरेको स्थानीयको भनाइ छ ।
वीरेन्द्रनगर नाैका तीर्थबहादुर थापाले आइतबार बिहानदेखि ग्यास लिन लाइनमा बसे पनि पालो नआएको गुनासो गरे । उनले रातभर खाली सिलिन्डरको सुरक्षाका लागि समेत अतिरिक्त खर्च गर्नुपर्ने अवस्था रहेको बताए । यता नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपककुमार घिमिरेले साउन एक गतेदेखि १० गतेसम्म वीरेन्द्रनगरमा १७ हजार एलपी ग्यास सिलिन्डर वितरण भएको जानकारी दिए । उनका अनुसार सामान्य अवस्थामा मासिक करिब २६ हजार सिलिन्डर खपत हुने गरे पनि पछिल्लो समय माग अस्वाभाविक रूपमा बढेको छ ।
घिमिरेले सुर्खेतमा ग्यासको वास्तविक अभाव नभएको दाबी गर्दै केही व्यक्तिले ग्यास संकलन गरी भण्डारण गरेको हुन सक्ने आशंका व्यक्त गरे । उनले बजारमा कृत्रिम अभाव सिर्जना भएको हुनसक्ने भन्दै सम्बन्धित निकायबाट अनुगमन र अनुसन्धान आवश्यक रहेको बताए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले सबै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन प्रहरी प्रशासनको निगरानीमा वितरण भइरहेको जानकारी दिए । उनले ग्यास अभाव देखिनुको कारणबारे अध्ययन भइरहेको बताए ।









