२०८३ साउन १२ , मंगलबार

मानसिक स्वास्थ्यबारे अन्तरक्रिया



सुर्खेत । कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे केन्द्रित पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम मंगलबार वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा सम्पन्न भएको छ । कार्यक्रमको आयोजना स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको महत्वपूर्ण अंगका रूपमा लिनुपर्ने बताइन् ।

उनले मानसिक रोगप्रति समाजमा अझै विद्यमान विभेद र गलत धारणाको अन्त्य गर्दै सबै नागरिकले सहज रूपमा मानसिक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन् । मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय तहसम्म सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । स्वास्थ्य सेवा निर्देशनालयकी मनोविद् लक्ष्मी तामाङले कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै समयमै पहिचान, परामर्श तथा उपचारको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको कमी, विशेषज्ञ जनशक्तिको अभाव तथा सेवाको सीमित पहुँच प्रमुख चुनौतीका रूपमा रहेको बताइन् ।

मनोरोग विशेषज्ञ डा. सुशील समदर्शीले मानसिक रोगलाई अन्य रोगसरह सामान्य रूपमा लिनुपर्नेमा जोड दिए । उनले मानसिक स्वास्थ्य समस्या लुकाएर राख्दा अवस्था जटिल बन्ने भएकाले प्रारम्भिक अवस्थामै उपचार र परामर्श लिन आग्रह गरे । मानसिक स्वास्थ्य सेवामा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको धारणा थियो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वीर्षबहादुर शाहीले प्रदेश सरकारले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्काले मानसिक स्वास्थ्य सेवा विस्तार तथा गुणस्तर सुधारका लागि निर्देशनालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनले सेवा पहुँच अभिवृद्धि, जनचेतना विस्तार तथा स्वास्थ्यकर्मीको क्षमता विकासलाई प्राथमिकता दिइएको बताए ।

कार्यक्रममा सहभागी पत्रकार नन्दराम जैसीले मानसिक स्वास्थ्यका विषयलाई सञ्चारमाध्यमले अझ प्राथमिकताका साथ उठान गर्नुपर्ने धारणा व्यक्त गरे । उनले मानसिक रोगप्रति समाजमा रहेका भ्रम र विभेद हटाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै तथ्यपरक र जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारणमा जोड दिनुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा मानसिक स्वास्थ्य सेवाको विद्यमान अवस्था, चुनौती तथा समाधानका उपायबारे सहभागीहरूबीच खुला छलफल भएको थियो । कार्यक्रमका वक्ताहरूले मानसिक स्वास्थ्यलाई जनस्वास्थ्यको प्रमुख मुद्दाका रूपमा स्थापित गर्दै सरकार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार