डोल्पा । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १४ राडी क्षेत्रमा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्कमा आएको प्राविधिक समस्याका कारण डोल्पाका अधिकांश दूरसञ्चार सेवा तीन दिनदेखि प्रभावित भएका छन् । फाइबर लाइन अवरुद्ध हुँदा जिल्लाका विभिन्न स्थानीय तहमा फोन, इन्टरनेट तथा डाटा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।
नेपाल टेलिकम डोल्पाका कार्यालय प्रमुख दयाविक्रम केसीका अनुसार करबगाड क्षेत्रमा दुईवटा विद्युत तथा दूरसञ्चार पोल ढलेपछि अप्टिकल फाइबर तार काटिएको हो । फाइबर ब्याकबोनमा क्षति पुगेपछि त्यसमार्फत सञ्चालित सम्पूर्ण सेवा प्रभावित भएको उनले जानकारी दिए । उनका अनुसार जाजरकोटबाट प्राविधिक टोली घटनास्थलमा पुगेर मर्मत कार्य गरिरहेको छ ।
मौसमले साथ दिएमा आज साँझसम्म सेवा पुनः सञ्चालनमा ल्याउने लक्ष्य रहेको टेलिकमले जनाएको छ । फाइबर नेटवर्क अवरुद्ध भएपछि ठूलीभेरी नगरपालिका, जुफाल, त्रिपुरासुन्दरी लगायतका क्षेत्रमा दूरसञ्चार सेवा ठप्पजस्तै बनेको छ । टेलिकमले हाल वैकल्पिक रूपमा रेडियो लिंकमार्फत सेवा सञ्चालन गरिरहेको भए पनि यसको क्षमता सीमित भएकाले इन्टरनेटको गति सुस्त भएको, फोन सम्पर्क पटक–पटक विच्छेद हुने तथा डाटा सेवा पनि अस्थिर बनेको सेवाग्राहीले बताएका छन् ।
डोल्पाजस्तो दुर्गम हिमाली जिल्लामा अधिकांश सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, स्वास्थ्य सेवा, शैक्षिक संस्था, सुरक्षा निकाय र सर्वसाधारणको सञ्चार सेवा एउटै फाइबर ब्याकबोनमा निर्भर रहने भएकाले यस्तो अवरोधले दैनिक जनजीवनमा प्रत्यक्ष असर परेको छ । सेवाग्राहीले यथाशीघ्र मर्मत सम्पन्न गरी नियमित सेवा सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । नेपाल टेलिकमले क्षतिग्रस्त पूर्वाधारको मर्मतलाई प्राथमिकताका साथ अघि बढाइएको जनाउँदै सेवा छिट्टै पूर्ण रूपमा सुचारु हुने विश्वास व्यक्त गरेको छ ।









