२०८३ साउन १४ , बिहीबार

सडक मर्मत नहुँदा घोडा–खच्चडकै भर



जाजरकोट । जाजरकोटका दुर्गम गाउँबस्तीमा सडकको अवस्था दयनीय बन्दै गएपछि स्थानीयवासी दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्रीसम्म घोडा र खच्चडमार्फत ढुवानी गर्न बाध्य भएका छन् । वर्षायाम सुरु भएसँगै पहिरो र वर्षाका कारण ग्रामीण सडकहरू अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन ठप्प भएको छ । सडक पुगेका बस्तीसमेत पुनः पैदल मार्ग र पशु ढुवानीमै निर्भर हुनुपरेको स्थानीयको गुनासो छ । नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिका र जुनीचाँदे गाउँपालिकाका अधिकांश ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार गरिए पनि नियमित मर्मत र स्तरोन्नतिको अभावले ती सडक वर्षाको समयमा प्रयोगविहीन बन्ने गरेका छन् ।

स्थानीय सरकारहरूले गाउँबस्ती जोड्ने उद्देश्यले सडक निर्माण गरे पनि समयमै मर्मत नगर्दा प्रत्येक वर्ष वर्षायाममा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । नलगाड नगरपालिका १३ सिउना, बारेकोट गाउँपालिका चार मुल्साम तथा जुनीचाँदे गाउँपालिकाका केही वडाबाहेक जिल्लाका अधिकांश वडा कार्यालय सडक सञ्जालसँग जोडिएका छन् । तर सडक सञ्चालनयोग्य नहुँदा स्थानीयवासीले सिमेन्ट, बालुवा, गिट्टी, खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक आवश्यक सामग्री घोडा–खच्चडबाट गाउँसम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको छ ।

बारेकोट गाउँपालिका एक रामीडाँडाका स्थानीय यज्ञ ज्योतिले सडक पुगे पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए । उनका अनुसार वर्षायाममा सडक अवरुद्ध भएपछि ट्रक वा जिप गाउँसम्म पुग्न सक्दैनन् । नेपालगन्जबाट मालवाहक सवारीमार्फत सस्तोमा आउने सामान गाउँसम्म पुर्‍याउँदा घोडा–खच्चड प्रयोग गर्नुपर्ने भएकाले ढुवानी खर्च उल्लेख्य रूपमा बढ्ने गरेको छ । यसले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत महँगो बनाएको उनकाे भनाई छ ।

स्थानीयका अनुसार सडक मर्मतमा ढिलाइ हुँदा विद्यार्थी, बिरामी, गर्भवती महिला तथा ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । आपत्कालीन अवस्थामा एम्बुलेन्स गाउँसम्म पुग्न नसक्दा बिरामीलाई डोको, स्ट्रेचर वा घोडामार्फत स्वास्थ्य संस्थासम्म लैजानुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् । वर्षायाममा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध हुँदा गाउँबस्ती केही दिनसम्म बाहिरी सम्पर्कबाट समेत टाढिने गरेका छन् । जाजरकोटका सात स्थानीय तहका ७७ वडामध्ये अझै केही दुर्गम बस्तीमा सडक पहुँच पुगेको छैन । ती स्थानका बासिन्दाले अहिले पनि सामान बोकेर वा घोडा–खच्चड प्रयोग गरेर लामो दूरी पार गर्नुपर्ने बाध्यता भोगिरहेका छन्। सडक पुगेका ठाउँमा पनि मर्मतको अभावले अपेक्षित सुविधा प्राप्त हुन सकेको छैन ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले स्थानीय तहको सीमित बजेटले सबै सडकको निर्माण, स्तरोन्नति र नियमित मर्मत सम्भव नभएको बताए । प्रदेश सरकारसँग पटक–पटक बजेट माग गरिए पनि पर्याप्त सहयोग प्राप्त हुन नसक्दा सडक सुधारका योजना प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनकाे भनाई छ । स्थानीयवासीले दुर्गम क्षेत्रको सडकलाई दीर्घकालीन रूपमा स्तरोन्नति गरी नियमित मर्मतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूका अनुसार सडक निर्माण मात्र पर्याप्त नभई वर्षभरि सञ्चालनयोग्य बनाउने नीति लागू भए मात्र दुर्गम बस्तीका नागरिकले सहज यातायात सुविधा र विकासको वास्तविक अनुभूति गर्न सक्नेछन् ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार