२०८३ भदौ २९ , सोमबार

त्रिपुरासुन्दरीका विद्यालयमा आईसीटी सामग्री वितरण



डोल्पा । जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिकाले विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने उद्देश्यले सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामग्री वितरण गरेको छ । नगरपालिकाले आधारभूत तथा माध्यमिक तहका विद्यालयलाई कम्प्युटर, ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, पेनड्राइभ र फोटोकपी पेपरलगायतका आवश्यक सामग्री उपलब्ध गराएको हो ।

साउन १२ गते आयोजित कार्यक्रममा नगरप्रमुख जनचन्द्र रोकाया, प्रमुख प्रशासकीय अधिकृत राजु कुवार, शिक्षा शाखा प्रमुख भीम थापा, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाको उपस्थितिमा विद्यालयका प्रतिनिधिलाई आईसीटी सामग्री हस्तान्तरण गरिएको थियो । नगरपालिकाका अनुसार शिक्षणलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले नगर क्षेत्रका १८ वटा आधारभूत तहका विद्यालयमा आईसीटी सामग्री वितरण गरिएको हो ।

प्रविधिमा आधारित शिक्षणले शिक्षकलाई पाठ प्रस्तुत गर्न सहज हुने र विद्यार्थीले अन्तरक्रियात्मक तथा सिर्जनात्मक वातावरणमा अध्ययन गर्ने अवसर पाउने विश्वास गरिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत शैक्षिक स्रोत व्यक्ति नवीनकुमार शाहीले वितरण गरिएका सामग्रीको प्रभावकारी प्रयोग र उचित संरक्षण गर्न विद्यालयलाई आग्रह गरे ।

उनका सामग्रीलाई प्रयोगविहीन अवस्थामा थन्क्याएर राख्नुको सट्टा नियमित कक्षाकोठामा प्रयोग गर्न सके विद्यार्थीको सिकाइ उपलब्धि, शिक्षकको कार्यसम्पादन तथा विद्यालयको समग्र शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन आउने बताए । दुर्गम जिल्ला डोल्पाका विद्यालयमा प्रविधिको पहुँच अझै सीमित रहेकाले नगरपालिकाको यो पहलले डिजिटल शिक्षाको आधार बलियो बनाउने अपेक्षा गरिएको छ ।

स्थानीय तहले आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण विस्तार तथा आधुनिक शैक्षिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । स्थानीय शिक्षक तथा अभिभावकले पनि नगरपालिकाको यस कदमले विद्यार्थीलाई समयअनुकूल शिक्षा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार