२०८३ साउन १४ , बिहीबार

सल्यान र रुकुम पश्चिममा कृषि जोन विस्तार



विस्तारित क्षेत्रअनुसार सल्यानको बागचौर नगरपालिका एक, चार र पाँच तथा दार्मा गाउँपालिका एक, चार,पाँच र छ मा सुन्तलाजात फलफूल जोन विस्तार गरिएको छ । यस क्षेत्रका किसानले अब सुन्तला उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्न आवश्यक प्राविधिक सहयोग, बिरुवा, कृषि सामग्री तथा तालिम प्राप्त गर्ने अवसर पाउनेछन् । यस्तै, शारदा नगरपालिका छ, सात , १२ र १४ लाई धान जोन तथा वडा नम्बर एक, दुई , छ, ११ र १२ लाई तरकारी जोनमा समेटिएको छ ।

धान र तरकारी उत्पादनको उच्च सम्भावना भएका यी क्षेत्रमा आधुनिक खेती प्रणाली, उन्नत बीउबिजन, सिँचाइ व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, कृषि औजारको प्रयोग र बजार व्यवस्थापनमा विशेष सहयोग उपलब्ध गराइने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । रुकुम पश्चिममा पनि कृषि उत्पादनलाई व्यावसायिक बनाउने उद्देश्यले ओखर र मकै जोन विस्तार गरिएको छ । आठबिसकोट नगरपालिका नाै तथा सानीभेरी गाउँपालिका पाँच र छ मा ओखर जोन विस्तार गरिएको छ भने सानीभेरी गाउँपालिका तिन चार र सातमा मकै जोन सञ्चालन गरिने भएको छ । यी क्षेत्रका किसानले अब उत्पादन वृद्धि, प्रशोधन र बजारीकरणका लागि सरकारी कार्यक्रममार्फत विभिन्न प्रकारका सहयोग प्राप्त गर्न सक्नेछन् ।

वरिष्ठ कृषि अधिकृत बनियाका अनुसार कार्यक्रम व्यवस्थापन एकाइको उच्च प्राविधिक कार्य समूहको साउन ११ गते बसेको बैठकले क्षेत्र विस्तार गर्ने निर्णय गरेको हो । निर्णयसँगै नयाँ समेटिएका वडामा कृषि आधुनिकीकरण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ । यसअन्तर्गत कृषकलाई आधुनिक कृषि प्रविधि हस्तान्तरण, क्षमता विकास तालिम, कृषि यान्त्रिकीकरण, बीउबिजन तथा बिरुवा वितरण, सिँचाइ पूर्वाधार विकास र उत्पादनको बजारीकरणमा समेत सहयोग गरिने योजना रहेको छ ।

कार्यालयले कृषि जोन विस्तारले स्थानीय तहमा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा किसानको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । साथै, स्थानीय स्तरमै रोजगारी सिर्जना, कृषि उद्यमशीलताको विकास र आयात प्रतिस्थापनमा समेत यस कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सरकारले कृषि क्षेत्रलाई उत्पादनमुखी, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषि जोनको दायरा क्रमशः विस्तार गर्दै आएको छ । सल्यान र रुकुम पश्चिममा गरिएको पछिल्लो विस्तारलाई स्थानीय कृषकले व्यावसायिक कृषि विकासका लागि महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार