२०८३ साउन १४ , बिहीबार

तातोपानीका दुई वडा बालमैत्री बन्दै



जुम्ला । तातोपानी गाउँपालिकाले वडा नम्बर तिन र पाँच लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने तयारीलाई तीव्र बनाएको छ । चालु आर्थिक वर्षभित्रै पहिलो चरणमा यी दुई वडालाई बालमैत्री घोषणा गर्दै आगामी चरणमा सम्पूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय तहका रूपमा घोषणा गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाइएको हो । यसैक्रममा बुधबार गाउँपालिकामा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकमाथि विस्तृत छलफल गरिएको छ ।

गाउँपालिकाको समन्वय तथा किर्डाकद्वारा सञ्चालित ‘सहयात्रा तेस्रो परियोजना’को सहयोगमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाले सूचकहरूको प्रगति समीक्षा गर्दै बाँकी काम समयमै सम्पन्न गर्ने विषयमा योजना बनाएका छन् । छलफलका क्रममा अधिकांश सूचक करिब ९० प्रतिशतसम्म पूरा भएको जानकारी दिइएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न कम्तीमा ९५ प्रतिशत सूचक पूरा भएको हुनुपर्ने व्यवस्था भए पनि तातोपानी गाउँपालिकाले सबै सूचक पूर्ण रूपमा कार्यान्वयन भएपछि मात्र घोषणा गर्ने नीति लिएको जनाएको छ । यसका लागि सम्बन्धित वडा र गाउँपालिकाले आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयनलाई गति दिने निर्णय गरेका छन् ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले घोषणा औपचारिकतामा सीमित नभई व्यवहारमा कार्यान्वयन हुने गरी तयारी गर्नुपर्नेमा जोड दिए । उनले अपूरा सूचक पूरा गर्न गाउँपालिका, वडा कार्यालय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै जनप्रतिनिधिको सक्रिय भूमिकाले अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । अध्यक्ष चौलागाईंले दुई वडालाई स्वस्थ प्रतिस्पर्धाका साथ आवश्यक मापदण्ड पूरा गरी छिटो बालमैत्री घोषणा गर्न आग्रह गर्दै यसले अन्य वडालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

तातोपानी गाउँपालिका तिनका वडाध्यक्ष गोर्कण रावलले बालबालिकाको अधिकार, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालाई सुनिश्चित गर्ने उद्देश्यले बालमैत्री स्थानीय शासन लागू गर्न लागिएको बताए । उनले अभियान सफल बनाउन अभिभावक, शिक्षक, समुदाय र सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा ‘सहयात्रा तेस्रो परियोजना’का परियोजना संयोजक प्रकाश शाहीले बालमैत्री स्थानीय शासनका सूचक, कार्यान्वयन प्रक्रिया र घोषणा मापदण्डबारे सहजीकरण गरेका थिए । गाउँपालिकाले बालबालिकामैत्री वातावरण निर्माण, गुणस्तरीय सेवा विस्तार तथा बालअधिकारको संरक्षणलाई प्राथमिकतामा राख्दै अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार