सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका तिन एरिचोकमा झारफुकको बहानामा एक महिलामाथि भएको दुर्व्यवहार, कुटपिट तथा अपशब्द प्रयोगको घटनाप्रति लैङ्गिक समानता तथा नेतृत्व प्रवर्द्धन सञ्जाल (GELPN) कर्णाली प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने एक युवकले हेराई-मनाई र उपचारका नाममा महिलामाथि गरेको अमानवीय व्यवहारप्रति आपत्ति जनाउँदै सञ्जालले प्रेस विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा महिलामाथि हुने जुनसुकै प्रकारको हिंसा, दुर्व्यवहार, मानसिक तथा शारीरिक उत्पीडन मानवअधिकारविरुद्धको गम्भीर अपराध भएको उल्लेख गरिएको छ । धार्मिक आस्था, झारफुक वा उपचारका नाममा महिलाको मर्यादा, सुरक्षा र आत्मसम्मानमा आघात पुर्याउने कार्य कदापि स्वीकार्य हुन नसक्ने भन्दै सञ्जालले यस्ता कार्यले समाजमा अन्धविश्वासलाई बढावा दिने र हिंसालाई सामान्यीकरण गर्ने खतरा बढाउने चेतावनी दिएको छ ।
घटनाका मुख्य अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएकोमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको कदमलाई स्वागत गर्दै सञ्जालले पीडित महिलाले निष्पक्ष न्याय पाउने सुनिश्चितताका लागि थप प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।









