सुर्खेत । वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुन नसक्दा समस्या फेरि चर्किएको छ । उचित व्यवस्थापन नभएको भन्दै वीरेन्द्रनगर एक का स्थानीयले चेतावनीस्वरूप फोहोर बोक्ने गाडी करिब एक सातासम्म बीच बाटोमै रोकेका थिए । स्थानीयका अनुसार नगर क्षेत्रबाट संकलित फोहोर बस्ती, सडक किनारा, खोला र कृष्ण सामुदायिक वन क्षेत्रमा जथाभाबी फालिँदा दुर्गन्ध फैलिएको, वातावरण प्रदूषित भएको तथा जनजीवन प्रभावित बनेको छ ।
स्थानीय रमा गिरी, पवन थापा र खगिसरा गिरीले नगरपालिकाले वर्षौंदेखि उठाइएका माग बेवास्ता गरेको आरोप लगाए। कुहिने र नकुहिने फोहोर नछुट्याई वन क्षेत्रमा फालिँदा वनस्पति र वन्यजन्तुसमेत प्रभावित भएको उनीहरूको भनाइ छ । वीरेन्द्रनगर एक स्थित कृष्ण सामुदायिक वनमा निर्माणाधीन ल्याण्डफिल्ड साइट लामो समयदेखि अधुरै छ । २०६७ सालदेखि प्रक्रिया सुरु भए पनि जग्गा प्राप्ति, इआईए, डीपीआर तथा पहुँच मार्ग निर्माणमा ढिलाइ हुँदा फोहोर व्यवस्थापन थप जटिल बनेको स्थानीयको गुनासो छ ।
ल्याण्डफिल्ड साइटसम्म पुग्ने सडक जीर्ण भएकाले फोहोर बोकेका गाडी बीच बाटोमै फोहोर फाल्ने गरेको आरोपसमेत लगाइएको छ । फोहोर व्यवस्थापन संघर्ष समितिका संयोजक बलभद्र पुरीले सम्झौताअनुसार काम नगरेको भन्दै नगरपालिकाको आलोचना गरे । स्थानीयले फोहोर व्यवस्थापन व्यवस्थित गर्न, वडा नं. एकमा फोहोर उठाएको शुल्क नलिन, पहुँच मार्ग कालोपत्रे गर्न, गंगटे खोलामा पुल निर्माण गर्न तथा तोकिएको स्थानमै फोहोर विसर्जन गर्न माग गरेका छन् ।
वडा अध्यक्ष दिनेश खत्रीका अनुसार केही सहमतिपछि बुधबारदेखि फोहोर बोक्ने गाडी सञ्चालनमा आएको छ । प्रतिनिधिसभा सदस्य रमेश सापकोटाले स्थानीयका माग जायज रहेको भन्दै चालु आर्थिक वर्षमै योजना कार्यान्वयनका लागि पहल गर्ने बताए । नगरप्रमुख मोहनमाया ढकालले भने फोहोर व्यवस्थापनको दिगो समाधानका लागि दीर्घकालीन योजना कार्यान्वयनमा जोड दिइएको बताइन् ।









