२०८३ असोज १ , बिहीबार

बजार मागसँगै जुम्लामा बढ्याे कोदो खेती



जुम्ला । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा जुम्ली कोदोको पिठोको माग बढ्न थालेपछि जुम्लामा कोदो खेतीको क्षेत्र विस्तार हुन थालेको छ । केही वर्षअघि घट्दै गएको कोदो खेतीमा किसानको आकर्षण पुनः बढेको छ भने यस वर्ष खेती हुने क्षेत्रफल पनि वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा दुई हजार सात सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो । यस वर्ष खेती हुने क्षेत्रफल करिब २.५ हेक्टरले बढेर दुई हजार सात सय ३७.५ हेक्टर पुगेको छ । पर्याप्त वर्षा, रोग–कीराको कम प्रकोप तथा बजारमा राम्रो मूल्य पाइने अवस्थाका कारण यस वर्ष उत्पादन पनि बढ्ने अनुमान गरिएको उनले बताए ।

उनका अनुसार गत वर्ष जुम्लामा करिब ३ हजार आठ सय ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो । जिल्लाको पातारासी र तिला गाउँपालिकामा सबैभन्दा बढी कोदो उत्पादन हुने गरेको छ । लेकाली क्षेत्रमा कोदो खेतीका लागि उपयुक्त वातावरण भएकाले ती क्षेत्रमा किसानले परम्परागत रूपमा यसको उत्पादन गर्दै आएका छन् । गत वर्ष जुम्लामा सञ्चालित अर्गानिक मिनी मार्केटमार्फत मात्रै करिब ३५ लाख रुपैयाँभन्दा बढीको कोदोको पिठो बिक्री भएको थियो ।

कोदोको पिठो स्वास्थ्यका दृष्टिले पोषणयुक्त मानिने र विभिन्न परिकार बनाउन प्रयोग हुने भएकाले यसको माग निरन्तर बढिरहेको कृषि कार्यालयको भनाइ छ । कृषि विज्ञहरूले कोदो उत्पादन बढाउन जिल्लामा ‘कोदो पकेट क्षेत्र’ घोषणा गरी सरकारी लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । कार्यालय प्रमुख अधिकारीका अनुसार यस विषयमा प्रदेश सरकारसँग पटक–पटक प्रस्ताव पठाइए पनि आवश्यक प्राथमिकता पाउन सकेको छैन ।

स्थानीय तहले पनि व्यावसायिक कोदो खेती प्रवर्द्धन, बजारीकरण र किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । कृषिमा निर्भर कर्णाली प्रदेशका लागि कोदो उत्पादन आयात प्रतिस्थापन र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने महत्वपूर्ण आधार बन्न सक्ने कृषि क्षेत्रका सरोकारवालाको विश्वास छ । बजारको मागलाई ध्यानमा राखी उत्पादन विस्तार, प्रशोधन र ब्रान्डिङमा जोड दिन सके जुम्ली कोदोले राष्ट्रियसँगै अन्तर्राष्ट्रिय बजारमा समेत थप पहिचान बनाउन सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार