२०८३ साउन १८ , सोमबार

शिक्षकलाई समावेशी शिक्षा तालिम



रुकुम पश्चिम । रुकुम पश्चिम र जाजरकोटका पाँच स्थानीय तहका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि समावेशी शिक्षा र सिकाइको सर्वानुकूलित ढाँचासम्बन्धी पाँचदिने क्षमता विकास तालिम सम्पन्न भएको छ । फेल्म नेपालको सहयोग तथा परिलक्षित संस्थाद्वारा सञ्चालित ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षा तथा सशक्तीकरण परियोजना’ अन्तर्गत सञ्चालन गरिएको तालिम आइतबार मुसिकोट नगरपालिका–५ स्थित होटल श्रीमा समापन गरिएको हो ।

तालिममा रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका तथा जाजरकोटका कुशे र जुनिचाँदे गाउँपालिकाका २८ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य अपाङ्गता भएका बालबालिकासहित सबै विद्यार्थीका लागि समान, पहुँचयोग्य र गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ ।

मापन समारोहका प्रमुख अतिथि तथा सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले बदलिँदो समयसँगै शिक्षण पद्धति पनि परिवर्तन भइरहेकाले शिक्षकहरूले निरन्तर सिकाइ, अध्ययन–अनुसन्धान र प्रविधिमैत्री शिक्षण अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए । उनले विद्यालयलाई समावेशी, बालमैत्री र अपाङ्गमैत्री बनाउन तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्न स्थानीय तह, विद्यालय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राजु लामिछानेले समावेशी शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकको क्षमता विकास अपरिहार्य रहेको बताए । उनका अनुसार तालिमका क्रममा सहभागीहरूले आफ्ना विद्यालयमा लागू गर्न सकिने कार्ययोजना तयार पारेका छन् । परियोजनामार्फत विद्यालयमा शौचालय निर्माण, भौतिक पूर्वाधार सुधार, फर्निचर सहयोग, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका लागि तालिम, साथै विद्यार्थीहरूको क्षमता विकासका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिए ।

तालिमका सहजकर्ता आत्माराम भट्टराईले समावेशी शिक्षाले सबै बालबालिकालाई समान अवसर प्रदान गर्ने भएकाले विद्यालयस्तरमै सकारात्मक परिवर्तन ल्याउन शिक्षकको भूमिका महत्वपूर्ण रहने बताए । उनले तालिममा सिकेका ज्ञान र सीप विद्यालयका अन्य शिक्षकसँग पनि आदान–प्रदान गरी व्यवहारमा लागू गर्न आग्रह गरे ।

सहभागी शिक्षकहरूले तालिमलाई अत्यन्त उपयोगी र व्यवहारमुखी भएको बताएका छन् । उनीहरूले संविधानले सुनिश्चित गरेको शैक्षिक अधिकार, अपाङ्गता भएका बालबालिकाको सिकाइ आवश्यकता तथा समावेशी शिक्षाका व्यावहारिक पक्षबारे नयाँ ज्ञान हासिल भएको उल्लेख गर्दै आफ्ना विद्यालयमा त्यसको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समापन कार्यक्रममा सहभागी सबै शिक्षकलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार