सिँजा । जुम्लामा स्याउ पाक्ने समय सुरु भएसँगै कृषि विकास कार्यालयले किसानलाई समयअघि नै काँचो स्याउ टिपेर बजारमा नपठाउन आग्रह गरेको छ। स्याउको गुणस्तर कायम राख्न कार्यालयले जिल्लाका विभिन्न बगैँचामा पुगेर परिपक्वता परीक्षण सुरु गरेको हो । कृषि विकास कार्यालय जुम्लाको प्राविधिक टोलीले तातोपानी गाउँपालिका छ बाँजराउलस्थित स्याउ बगैँचामा पुगेर स्याउको अवस्था परीक्षण गर्दै किसानलाई पूर्ण रूपमा पाकेपछि मात्रै संकलन गर्न सुझाव दिएको छ ।
कार्यालय प्रमुख रामभक्त अधिकारीले स्याउको बाहिरी रङ परिवर्तन हुँदैमा मात्र त्यसलाई पाकेको मान्न नमिल्ने बताए । उनका अनुसार बजारमा पठाइने स्याउ स्वादिलो, गुणस्तरीय र उपभोक्ताको विश्वास कायम गर्ने खालको हुन आवश्यक छ । त्यसका लागि स्याउमा रहेको गुलियोपना अर्थात् चिनीको मात्रा परीक्षण गरेर मात्रै टिप्ने समय निर्धारण गर्नुपर्ने उनले बताए ।
कार्यालयका प्राविधिकहरूले बगैँचामै रेफ्र्याक्टोमिटर प्रयोग गरी स्याउको गुणस्तर परीक्षण गरेका छन् । बाँजराउलमा गरिएको परीक्षणका क्रममा स्याउमा आठ ब्रिक्स मात्र गुलियोपना देखिएको छ । बजारका लागि उपयुक्त स्याउमा कम्तीमा १२ ब्रिक्स गुलियोपना आवश्यक पर्ने कार्यालयले जनाएको छ । त्यसैले अहिले नै स्याउ टिप्दा गुणस्तर कमजोर हुने निष्कर्ष निकालिएको छ । कार्यालयले काँचो स्याउ बजारमा पुगेमा जुम्ली स्याउको स्वाद र पहिचानमा असर पर्ने चेतावनी दिएको छ ।
समय नपुगी टिपिएको स्याउले उपभोक्ताको विश्वास घटाउने र किसानले समेत उचित मूल्य पाउन नसक्ने अवस्था आउन सक्ने भएकाले परिपक्व भएपछि मात्र संकलन गर्न आग्रह गरिएको हो । कृषि विकास कार्यालयले आगामी दिनमा जिल्लाका अन्य स्याउ उत्पादन हुने क्षेत्रमा समेत प्राविधिक टोली परिचालन गरी परिपक्वता परीक्षणलाई निरन्तरता दिने जनाएको छ । वैज्ञानिक विधिबाट उत्पादन र बजारीकरण गर्न सके जुम्ली स्याउको बजार विस्तार हुने तथा किसानले राम्रो आम्दानी लिन सक्ने कार्यालयको विश्वास छ ।









