सल्यान । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएका सल्यान र सुर्खेतका क्षेत्रमा कर्णाली प्रदेश सरकारले स्थलगत अध्ययन सुरु गर्ने भएको छ । धान रोपाइँमा परेको असर, किसानको अवस्था र आवश्यक सहयोगका उपाय पहिचान गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरेको हो ।
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै गठन गरेको कार्यदलले सल्यानको बनगाड कुपिण्डे नगरपालिका एक देखी सात नम्बर वडा तथा सुर्खेतको सिम्ता गाउँपालिका एक, तिन, चार, पाँच, छ र सात नम्बर वडामा पुगेर अध्ययन गर्नेछ । यी क्षेत्रका अधिकांश किसान वर्षामा निर्भर रहेकाले पर्याप्त पानी नपर्दा समयमै धान रोपाइँ गर्न नसकेको अवस्था छ ।
कर्णाली प्रदेशसभाको साउन १५ गते बसेको बैठकमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले शून्य समयमा खडेरीका कारण सल्यान र सुर्खेतका किसानले भोगिरहेको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। त्यसपछि मन्त्रालयले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न अध्ययन कार्यदल गठन गरेको जनाएको छ । कार्यदलको संयोजकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ (दशौँ तह) चित्रबहादुर रोकाय रहनुभएको छ ।
कार्यदलका सदस्यमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका इन्जिनियर प्रतिनिधि, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सुर्खेतका इन्जिनियर प्रतिनिधि, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका इन्जिनियर प्रतिनिधि र मन्त्रालयका बागवानी विकास अधिकृत विशाल खत्री रहनुभएको छ । मन्त्रालयका अनुसार कार्यदलले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, किसान, कृषि प्राविधिक तथा सरोकारवाला निकायसँग छलफल गर्नेछ ।
खडेरीका कारण धान खेतीमा परेको असर, उत्पादनमा हुन सक्ने कमी, किसानको आवश्यकता र तत्काल तथा दीर्घकालीन समाधानका उपायसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने जिम्मेवारी कार्यदललाई दिइएको छ । यस वर्ष वर्षाको अभावका कारण खेतमा रोपाइँ गर्न नपाएका किसानले खाद्यान्न उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।
प्राकृतिक सिँचाइमा निर्भर रहेका क्षेत्रका किसानलाई राहत, वैकल्पिक सिँचाइ सुविधा विस्तार र कृषि उत्पादन संरक्षणका कार्यक्रम आवश्यक रहेको स्थानीयको भनाइ छ । प्रदेश सरकारले कार्यदलको प्रतिवेदनका आधारमा खडेरी प्रभावित किसानका लागि राहत, सिँचाइ व्यवस्थापन तथा आगामी वर्षका लागि दीर्घकालीन योजना तयार गर्ने अपेक्षा गरिएको छ ।









