हुम्ला। भारत लैजाने क्रममा कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्धार गरिएका हुम्लाका २५ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले उद्धार गरिएका नौ बालिका र १६ बालकलाई कानुनी प्रक्रियाबारे जानकारी गराउँदै अभिभावकको जिम्मा लगाएको हो। बिहीबार कञ्चनपुरबाट हुम्ला ल्याइएका बालबालिकालाई शुक्रबार आवश्यक कागजी प्रक्रिया पूरा गरी परिवारसँग पुनर्मिलन गराइएको प्रहरीले जनाएको छ।
हुम्लाका प्रहरी निरीक्षक युवराज ढकालका अनुसार बालबालिकालाई अभिभावकको जिम्मा लगाउनुअघि उनीहरूलाई कानुनी सचेतना प्रदान गरिएको थियो। बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर बाहिर पठाउँदा अभिभावकसमेत कानुनी कारबाहीमा पर्न सक्ने विषयमा जानकारी गराइएको थियो।
गत असोज २७ गते सिमकोट गाउँपालिका–८ स्थित स्याँडा गाउँबाट पैदलमार्ग हुँदै नेपालगन्ज र कञ्चनपुरको गड्डाचौकी नाका पु¥याइएका बालबालिकालाई भारत लैजाने क्रममा नेपाल र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। उद्धारपछि उनीहरूलाई १४ दिनसम्म कञ्चनपुरस्थित बालगृहमा राखिएको थियो।
बालबालिकाको उद्धारमा शान्ति पुनस्र्थापना गृहले समेत सहयोग गरेको थियो। यसैबीच, पढाइदिने प्रलोभन देखाएर बालबालिकालाई भारत लैजान खोज्ने चार जनाविरुद्ध मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरिएको छ। शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहका अनुसार बालबालिका लैजाने कार्यमा संलग्न मुख्य व्यक्तिसहित चार जनालाई प्रतिवादी बनाएर मुद्दा अघि बढाइएको हो । बालबालिकाको सुरक्षित भविष्य र शिक्षाको प्रलोभनमा पारेर हुने यस्ता घटनाप्रति अभिभावक सचेत हुनुपर्ने प्रहरीले जनाएको छ।








