२०८३ कात्तिक १६ , सोमबार

४१५ रुपैयाँको तोरीको तेल किन्दा १० लाख जिते गौरीशंकरले, घर मर्मतदेखि लोक सेवा तयारीसम्मको योजना



काठमाडौं। सामान्यतया दैनिक उपभोग्य सामान खरिद गर्दा कसैले ठूलो पुरस्कार जितिएला भनेर कल्पना गरेको हुँदैन। तर, धनुषाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा खरिद अप्रत्याशित खुसीको कारण बनेको छ।

उनले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्। धनुषाको नगराइन नगरपालिका–९ घोरघास निवासी पण्डितले ललितपुरको धापाखेलस्थित बिगमार्टबाट तोरीको तेल खरिद गरेका थिए। गत कात्तिक ५ गते ४१५ रुपैयाँको तेल किनेपछि उनले ई–सेवामार्फत भुक्तानी गरेका थिए। सोही कारोबारको बिलका आधारमा गरिएको लक्की ड्रमा उनी १० लाख रुपैयाँको विजेता बनेका हुन्।

उनको कुपन नम्बर ०९८०४६५५८१७५ रहेको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भुसालले फोन गरेर पुरस्कार जितेको जानकारी गराउँदा पण्डित निकै खुसी भए। पुरस्कार घोषणा कार्यक्रममा सहभागी क्रिकेटर ललित राजवंशीले समेत उनलाई फोन गरेर बधाई दिएका थिए।

पण्डितको जीवन सहज भने छैन। गाउँमा रहँदा उनी बुवाआमालाई खेतीपातीको काममा सघाउँथे। खेतीको कामबाट समय निकालेर पढाइलाई निरन्तरता दिएका उनी अहिले धनुषामै स्नातक तहको चौथो वर्षमा अध्ययनरत छन्। आर्थिक समस्याका कारण सरकारी जागिर खाने लक्ष्यसहित उनी एक वर्षअघि काठमाडौं आएका थिए। ललितपुरको ग्वार्कोमा डेरा गरी बस्दै आएका उनले पढाइसँगै जीविकोपार्जनका लागि राइड सेयरिङ सेवा सञ्चालन गर्न थाले।

मोटरसाइकलको लाइसेन्स भएका पण्डितले पठाओ, इन्ड्राइभ र याङ्गोमार्फत यात्रु ओसार्ने काम गर्दै आएका छन्। दिनभरि मोटरसाइकल चलाएर कमाउने र बाँकी समय लोक सेवा आयोगको तयारीमा खर्च गर्ने उनको दैनिकी बनेको छ। सरकारी सेवामा प्रवेश गर्ने लक्ष्यसहित विभिन्न परीक्षामा सहभागी भए पनि अहिलेसम्म अपेक्षित सफलता हात परेको छैन। तर, उनले आफ्नो लक्ष्य र प्रयासलाई निरन्तरता दिइरहेका छन्।

१० लाख रुपैयाँ पुरस्कार जितेपछि पण्डितले उक्त रकमलाई आवश्यक काममा खर्च गर्ने योजना बनाएका छन्। गाउँमा रहेको घर मर्मत गर्ने र बाँकी रकम लोक सेवा आयोगको तयारीमा लगाउने उनको सोच छ। अनलाइनखबरसँग कुरा गर्दै उनले वर्षभरि गाडी चलाएर पनि यति ठूलो रकम कमाउन कठिन हुने बताए। सामान खरिद गर्दा बिल लिनु कति महत्वपूर्ण रहेछ भन्ने कुरा आफूले पुरस्कार जितेपछि अझ राम्रोसँग बुझेको उनको भनाइ छ।

६ सदस्यीय परिवारका कान्छा सदस्य रहेका पण्डितले पुरस्कार रकमबाट परिवारलाई सहयोग पुग्ने अपेक्षा गरेका छन्। उनका लागि यो पुरस्कार आर्थिक राहत मात्र नभई सरकारी सेवामा प्रवेश गर्ने सपना पूरा गर्न थप सहयोगी बन्ने अवसर पनि बनेको छ। पुरस्कार प्राप्त गर्न पण्डितलाई सामान खरिद गरेको आधिकारिक बिलसहित जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न भनिएको छ।

प्रक्रिया पूरा भएपछि आगामी मंसिर १ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा अर्थमन्त्रीको हातबाट उनलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ। पण्डितको यो घटनाले उपभोक्ताले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिनुपर्ने महत्वलाई पनि उजागर गरेको छ। बिल लिनु केवल कारोबारको प्रमाण सुरक्षित गर्नु मात्र नभई कर प्रणालीलाई पारदर्शी बनाउन सहयोग गर्ने जिम्मेवार उपभोक्ता व्यवहारसमेत हो।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार