२०८३ कात्तिक १६ , सोमबार

प्रचण्डको आरोप वर्तमान सरकार अलोकतान्त्रिक बन्यो, गाउँगाउँमा पुगेर जनतालाई बुझाउँछौँ



बर्दिबास । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अलोकतान्त्रिक बन्दै गएको आरोप लगाएका छन्। पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु सरकारको अलोकतान्त्रिक कार्यशैली भएको उनको टिप्पणी छ।

महोत्तरीको बर्दिबासमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकारप्रति आम नागरिक र बौद्धिक समुदायको धारणा नकारात्मक बन्दै गएको दाबी गरे। उनले आम जनताले सरकारको वास्तविक कार्यशैली बुझ्न थालेको र बुद्धिजीवीहरूले समेत पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा बनाइसकेको बताए।

‘आम जनताले महसुस गर्न थालिसके। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके। हावामा भोट हालिएछ, हुरीबतास मात्रै रहेछ यो भनेर। तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम चाहिँ हामी गर्छौं,’ उनले भने।

प्रचण्डले अब पार्टीका नेता तथा कार्यकर्ता गाउँगाउँमा पुगेर सरकारको कार्यशैली र गतिविधिबारे सर्वसाधारणलाई जानकारी गराउने बताए।मधेस प्रदेशको राजनीतिक समीकरणबारे बोल्दै प्रचण्डले नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि आफूहरूसँग छलफल गरेको जानकारी दिए। नयाँ राजनीतिक समझदारीका आधारमा मधेस प्रदेशमा सरकार गठन गर्ने विषयमा छलफल भइरहेको भन्दै उनले केही दिनभित्रै नयाँ सरकार बन्ने दाबी गरे।

एमाले पुनः मधेस सरकारमा सहभागी हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले त्यसलाई असम्भव नभने पनि तत्काल यस विषयमा विस्तृत छलफल नभएको स्पष्ट पारे। प्रचण्डले पार्टीभित्र एकता, उद्देश्यमा एकरूपता र आपसी सद्भाव कायम गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताए।

आफूले आन्दोलनको आँधीबेहरी ल्याउने अभिव्यक्ति दिएको विषयमा पत्रकारले जिज्ञासा राख्दा उनले समय र परिस्थितिअनुसार त्यसबारे स्पष्ट हुने प्रतिक्रिया दिए। अहिले नै आन्दोलनका विषयमा थप कुरा गर्दा सञ्चारमाध्यमले त्यसलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्न सक्ने उनको भनाइ थियो।

सरकारको कार्यशैलीविरुद्ध जनमत निर्माण गर्ने र पार्टीको संगठनलाई थप सुदृढ बनाउने रणनीतिअनुसार आफूहरू अघि बढिरहेको पनि प्रचण्डले संकेत गरेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार