२०८३ कात्तिक १६ , सोमबार

आफ्नै व्यवसाय सुरु गर्न चाहनेका लागि निःशुल्क उद्यमशीलता तालिम, कसरी दिने आवेदन?



काठमाडौं। आफ्नै व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ, तर कुन व्यवसाय छनोट गर्ने, कसरी सुरु गर्ने र व्यावसायिक योजना कसरी बनाउने भन्ने अन्योलमा हुनुहुन्छ? त्यसो हो भने तपाईंका लागि निःशुल्क तालिमको अवसर खुलेको छ।

नेपाल सरकारअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले इच्छुक व्यक्तिहरूका लागि एक हप्ते निःशुल्क उद्यमशीलता विकास तालिम (Entrepreneurship Development Programme–EDP) सञ्चालन गर्ने भएको छ। तालिममा सहभागी हुन प्रतिष्ठानले आवेदन आह्वान गरेको छ।

प्रतिष्ठानका अनुसार तालिममार्फत सहभागीहरूलाई आफ्नो व्यक्तिगत क्षमता मूल्याङ्कन गर्ने, आफूलाई उपयुक्त व्यवसाय पहिचान तथा छनोट गर्ने र व्यवसाय सञ्चालनका लागि आवश्यक व्यावसायिक योजना तयार गर्ने सीप प्रदान गरिनेछ।

कसले दिन सक्छन् आवेदन?

प्रतिष्ठानले सार्वजनिक गरेको सूचनाअनुसार तालिममा सहभागी हुन इच्छुक व्यक्तिले निम्न योग्यता पूरा गरेको हुनुपर्नेछ।

  • नेपाली नागरिक हुनुपर्ने।
  • १६ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने।
  • न्यूनतम एसईई, एसएलसी वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने।

आवेदन तथा तालिमको समयतालिका

प्रतिष्ठानले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आवेदन तथा तालिमका विभिन्न चरणहरू निम्नानुसार रहेका छन्।

विवरण मिति
आवेदन खुला २०८३ कात्तिक १३ गते
आवेदन दिने अन्तिम मिति २०८३ कात्तिक ३० गते
सम्पर्क गर्ने मिति २०८३ मंसिर ४ गते
अनलाइन अन्तर्वार्ता २०८३ मंसिर ७ देखि ९ गतेसम्म
तालिम सञ्चालन २०८३ मंसिर १४ देखि २१ गतेसम्म

कसरी दिने आवेदन?

तालिममा सहभागी हुन इच्छुक तथा योग्यता पुगेका व्यक्तिले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आधिकारिक वेबसाइट www.iedi.gov.np मा गएर आवेदन फाराम डाउनलोड गर्नुपर्नेछ।

डाउनलोड गरिएको फाराममा आवश्यक विवरण भरी २०८३ कात्तिक ३० गतेभित्र प्रतिष्ठानको इमेल ठेगाना program@iedi.gov.np मा पठाउनुपर्नेछ।

आवेदन फाराम, तालिमसम्बन्धी निर्देशिका तथा अन्य आवश्यक जानकारी प्रतिष्ठानको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ।

आफ्नै व्यवसाय सुरु गर्न, स्वरोजगार बन्न वा उद्यमशीलताको क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न चाहनेहरूका लागि यो तालिम उपयोगी अवसर बन्न सक्छ। विशेषगरी व्यवसाय छनोटदेखि व्यावसायिक योजना निर्माणसम्मका आधारभूत सीप सिक्न चाहने व्यक्तिले यस अवसरको सदुपयोग गर्न सक्नेछन्।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार