२०८३ साउन १८ , सोमबार

घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध अख्तियारको मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारका अनुसार काठ उद्योगका लागि ल्याइएका काठहरू सिलबन्दीअनुसार भए/नभएको जाँच गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा कार्यालय प्रमुख यादवले सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।

उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा यादवले आफ्नो पदको दुरुपयोग गर्दै काष्ठ उद्योगमा ल्याइएका काठ बोकेका ट्रकको सिल खोल्ने मुचुल्का तयार गर्ने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिएको र रकम माग गरेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कसुर ठहर भएको छ । सोही ऐनअनुसार बिगो १२ हजार रुपैयाँ कायम गरी कैद तथा बिगो बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । अख्तियारले सार्वजनिक पदमा रहेका व्यक्तिले सेवाग्राहीसँग गैरकानुनी लाभ लिने कार्य भ्रष्टाचारजन्य अपराध हुने भन्दै यस्ता गतिविधिमाथि अनुसन्धान र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार