२०८३ साउन २० , बुधबार

दशनामी इतिहास र खस सभ्यताको दस्तावेज लोकार्पण



सुर्खेत । लेखक खडानन्द चौलागाईद्वारा लिखित ऐतिहासिक कृति ‘दशनामी समाजका विशिष्ट भ्रम र खस सभ्यता’ पुस्तक सुर्खेतमा आयोजित कार्यक्रमबीच लोकार्पण गरिएको छ । कोलमुनी परिवार, सुर्खेतको आयोजना कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, अध्येता तथा दशनामी समुदायका अगुवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सभाध्यक्षता स्वर्गीय बलदेव गिरीकाे धर्मपत्नी उमादेवी गिरीले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा सुर्खेत बहुमुखी क्याम्पसका पूर्वप्रमुख महेन्द्रप्रसाद योगी सहभागी भएका थिए । कार्यक्रममा वक्ताहरूले पुस्तकले दशनामी समाज, खस सभ्यता र ऐतिहासिक पहिचानका विषयमा महत्वपूर्ण सामग्री प्रस्तुत गरेको धारणा व्यक्त ग रे ।

पुस्तक लोकार्पणपछि लेखक चौलागाईले ‘दशनामी समाजका विशिष्ट भ्रम र खस सभ्यता’ केवल एउटा पुस्तक नभई इतिहास, संस्कृति र पहिचानको खोजीमा आधारित अनुसन्धानात्मक कृति भएको बताए । उनले दशनामी तथा नाथ परम्पराबारे समाजमा रहेका विभिन्न भ्रमहरूलाई ऐतिहासिक प्रमाण, दस्तावेज र अध्ययनका आधारमा स्पष्ट पार्ने उद्देश्यले पुस्तक तयार गरिएको जानकारी दिए ।

लेखकका अनुसार पुस्तकमा नेपालको खस सभ्यताको विकासक्रम, ऐतिहासिक सिञ्जा उपत्यकाको योगदान, दशनामी समुदायको सामाजिक तथा सांस्कृतिक भूमिका र पहिचानका विषयलाई प्रमाणसहित प्रस्तुत गरिएको छ । दशनामी परम्पराको दर्शन, यसको ऐतिहासिक विकास, गृहस्थीकरणको प्रक्रिया, समाजमा व्याप्त भ्रम, वर्तमान पहिचानका चुनौती तथा भावी पुस्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारे पुस्तकमा विस्तृत चर्चा गरिएको छ ।

१० खण्डमा विभाजित यस कृतिमा ऐतिहासिक कोलमुनी वंशको वंशावली, कोलमुनी वंशदर्पण तथा दशनामी समुदायको गौरवपूर्ण इतिहासलाई समेटिएको छ । साथै खेल क्षेत्रमा योगदान पुर्‍याएका स्वर्गीय बलदेव गिरीको जीवनयात्रा, सामाजिक योगदान र उनिप्रति समर्पित काव्यिक सिर्जनाहरूले पुस्तकलाई थप महत्वपूर्ण बनाएको छ । पुस्तक लेखनका क्रममा ऐतिहासिक दस्तावेज, गुठी अभिलेख, शिलालेख, वंशावली तथा विभिन्न स्रोत सामग्रीहरूको गहिरो अध्ययन–अनुसन्धान गरिएको लेखक चौलागाईले बताए । उनले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा तयार गरिएको यस कृतिले दशनामी समुदायको वास्तविक इतिहास बुझ्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकले दशनामी समाजको मौलिकता, संस्कृति र ऐतिहासिक योगदानलाई उजागर गरेको बताएका थिए । उनीहरूले नयाँ पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्न तथा अन्य समुदायमा दशनामी समाजप्रति सही दृष्टिकोण निर्माण गर्न पुस्तक उपयोगी हुने धारणा राखे । लोकार्पण कार्यक्रममा सहभागीहरूले लेखक चौलागाईको अनुसन्धानात्मक प्रयासको प्रशंसा गर्दै इतिहास, संस्कृति र समाजको दस्तावेजीकरणमा यस्ता कृतिहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार