२०८३ साउन २० , बुधबार

पचाल झरना राष्ट्रिय सूचीमा



कालीकोट । कर्णाली प्रदेशको कालीकोटमा अवस्थित पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरनाका रूपमा राष्ट्रिय मान्यता प्राप्त गरेपछि यस क्षेत्रको पर्यटन विकासमा नयाँ सम्भावना देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका एक सय प्रमुख पर्यटकीय गन्तव्य छनोट गर्ने क्रममा पचाल झरनालाई ६४औँ स्थानमा सूचीकृत गरेको हो ।

समुद्री सतहबाट करिब नाै सय ७० मिटरको उचाइमा रहेको पचाल झरनाको आधिकारिक उचाइ तिन सय ८१ मिटर कायम गरिएको छ । यसअघि तत्कालीन जिल्ला विकास समितिले जीपीएस प्रविधिबाट मापन गर्दा यसको उचाइ चार सय १५ मिटर उल्लेख गरेको थियो । पछिल्लो प्राविधिक पुनःमापनका क्रममा बीचको चट्टानी भागलाई निरन्तर झरना नमानिएकाले तिन सय ८१ मिटरलाई आधिकारिक आधार मानिएको हो । यही मापनका आधारमा नेपाल पर्यटन बोर्डले पचाल झरनालाई नेपालकै सबैभन्दा अग्लो झरनाका रूपमा सूचीकृत गरेको जनाएको छ ।

यसअघि तेह्रथुमको ह्यातुङ झरना तिन सय ६५ मिटर उचाइसहित नेपालकै अग्लो झरना मानिन्थ्यो । नयाँ मापनअनुसार पचाल झरना त्यसभन्दा १६ मिटर अग्लो रहेको पुष्टि भएको छ । प्राकृतिक बनावट र उचाइका कारण यो झरना एसियाका उल्लेखनीय अग्ला झरनामध्ये एकका रूपमा समेत चिनिन थालेको छ । खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिकाको सीमाक्षेत्रमा रहेको झरनाको मुहान धार्मिक महत्त्व बोकेको चुलिमालिक क्षेत्रको फेदीबाट निस्कन्छ । झरना खस्ने मुख्य भाग भने पचालझरना गाउँपालिका चारमा पर्छ । यहाँबाट झरेको पानी करिब १० किलोमिटर बगेर कर्णाली नदीमा मिसिने गर्दछ ।

पचालझरना गाउँपालिकाका निवर्तमान अध्यक्ष खड्कराज सेजुवालले वैज्ञानिक मापन गरी आवश्यक विवरण नेपाल पर्यटन बोर्डमा पठाइएकाले झरनाले राष्ट्रिय मान्यता पाउन सहज भएको बताए । गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले भने प्रचारप्रसार बढे पनि सडक, पदमार्ग, विश्रामस्थल तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणमा पर्याप्त लगानी हुन नसकेको उल्लेख गरे । स्थानीय सरकारले पचाल झरनालाई कर्णाली कोरिडोरसँग जोडेर धार्मिक तथा प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएको छ ।

विशेषगरी कैलाश–मानसरोवर जाने भारतीय पर्यटकलाई समेत आकर्षित गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । यसैबीच नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा झरनाको डिजिटल प्रवर्द्धनका लागि क्यूआर कोड प्रणाली सञ्चालनमा ल्याइएको छ । यसमार्फत पर्यटकले झरनाको उचाइ, भौगोलिक अवस्थिति, पहुँचमार्ग तथा अन्य आवश्यक जानकारी सहजै प्राप्त गर्न सक्नेछन् । स्थानीय सरोकारवालाले पचाल झरनाको संरक्षणसँगै पूर्वाधार विकासलाई प्राथमिकता दिए यसले कर्णालीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार