हुम्ला । राष्ट्रिय स्तनपान सप्ताहको अवसरमा हुम्लाको सिमकोट गाउँपालिकामा सुनौलो हजार दिनका आमाहरूलाई सही तरिकाले स्तनपान गराउने विधि र पोषणयुक्त आहारको महत्त्वबारे व्यवहारिक प्रशिक्षण दिइएको छ । सिमकोट गाउँपालिका पाँच स्थित खाद्योग गाउँको चौपाडीमा आयोजित कार्यक्रममा दक्ष स्वास्थ्यकर्मीले प्रत्यक्ष प्रदर्शनमार्फत स्तनपानका सही विधिबारे जानकारी गराएका हुन् । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सुनौलो हजार दिनका आमाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीका अनुसार शिशुको स्वास्थ्य, पोषण र समुचित वृद्धि–विकास सुनिश्चित गर्ने उद्देश्यले आमाहरूलाई व्यवहारमै आधारित प्रशिक्षण प्रदान गरिएको हो । कार्यक्रममा दक्ष स्वास्थ्यकर्मी सरिता बोहराले नवजात तथा शिशुलाई सही आसन र तरिकाबाट स्तनपान गराउने विधिको प्रत्यक्ष प्रदर्शन गरे । उनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्ने, शिशुलाई पूर्ण रूपमा आमाको दूध मात्र खुवाउने तथा सही तरिकाले स्तनपान गराउँदा कुपोषण, संक्रमण र अन्य स्वास्थ्य समस्याको जोखिम कम हुने जानकारी दिए ।

यसअघि आयोजित अन्तरक्रियामा सहभागी आमाहरूले स्तनपानसँग सम्बन्धित आफ्ना जिज्ञासा राखेका थिए । स्वास्थ्यकर्मीहरूले आमाका प्रश्नको उत्तर दिँदै स्तनपानको महत्त्व, आमाको पोषण, शिशु स्याहार तथा परिवारको सहयोगबारे जानकारी दिएका थिए । कार्यक्रममा पोषणसम्बन्धी व्यवहार परिवर्तनलाई समेत प्राथमिकता दिइएको थियो । स्थानीय स्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरी पोषिलो अर्गानिक खिर तयार गर्ने तरिका प्रत्यक्ष प्रदर्शन गरिएको थियो । त्यसपछि सहभागी आमाहरूलाई उक्त खिर खुवाएर सन्तुलित आहारको महत्त्वबारे जानकारी गराइएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले स्वस्थ शिशु निर्माणका लागि सही स्तनपान अभ्यास अपरिहार्य रहेको बताए । उनले प्रत्येक आमाले स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्तनपान गराउने बानी बसाल्नुपर्नेमा जोड दिए । गाउँपालिका उपाध्यक्ष सुशिला भाम रोकायाले पनि शिशुको पोषण अवस्था सुधार गर्न स्तनपानसँगै पोषिलो खानपानमा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख चिकित्सक डा. भीमबहादुर बुढा, जीएनआईकी निर्मला बोहरा, एमडीआई नेपालका प्रतिनिधि, वान हार्टका सोनाम लामा, आधार विकास नेपालकी पेमा छुईडेन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय स्तनपान सप्ताह प्रत्येक वर्ष अगस्ट एक देखि सात तारिखसम्म मनाइने गरिन्छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकाका अन्य स्वास्थ्य संस्थाहरूमा पनि स्तनपान प्रवर्द्धन, पोषण शिक्षा तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा सुनौलो हजार दिनका आमा, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।








