२०८३ साउन २० , बुधबार

पाँच रोपनी क्षेत्रफलमा उम्रिएको गाँजा फँडानी



डोल्पा । प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका विभिन्न सार्वजनिक स्थानमा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फँडानी गरी नष्ट गरेको छ । लागूऔषध उत्पादन तथा दुरुपयोगको जोखिम न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार साउन १९ गते इलाका प्रहरी कार्यालय काईगाउँ, करवगार्ड, छार्का तथा अस्थायी प्रहरी पोस्ट हुरीकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा पुगेर गाँजा फँडानी अभियान सञ्चालन गरेको हो ।

अभियानका क्रममा सार्वजनिक जग्गामा प्राकृतिक रूपमा फैलिएका करिब पाँच रोपनी क्षेत्रफलका गाँजाका बोट फँडानी गरी नष्ट गरिएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार जगदुल्ला गाउँपालिका एक हुरीकोटका सार्वजनिक क्षेत्रमा करिब एक रोपनी, त्रिपुरासुन्दरी नगरपालिका पाँच खदाङमा करिब दुई रोपनी तथा काइके गाउँपालिका पाँच खानी आसपासका सार्वजनिक स्थानमा करिब दुई रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट हटाइएको छ ।

फँडानी गरिएका सबै बोट तत्काल नष्ट गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्राकृतिक रूपमा उम्रिने गाँजाका बोटले लागूऔषध उत्पादन, ओसारपसार तथा दुरुपयोगको सम्भावना बढाउने भएकाले समयमै नियन्त्रण आवश्यक रहेको उल्लेख गरेको छ । सोही उद्देश्य अनुसार जिल्लाभर नियमित रूपमा अनुगमन तथा फँडानी अभियान सञ्चालन गरिँदै आएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध गाँजा तथा अन्य लागूऔषधजन्य गतिविधि नियन्त्रणसँगै समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाएको छ ।

स्थानीयवासीलाई लागूऔषधको दुष्प्रभावबारे जानकारी गराउँदै यस्ता अवैध बोटबिरुवा देखिएमा सम्बन्धित प्रहरी कार्यालयमा तत्काल सूचना दिन आग्रह गरिएको छ । डोल्पा प्रहरीले आगामी दिनमा पनि जिल्लाभर लागूऔषध उत्पादन, ओसारपसार र दुरुपयोग नियन्त्रणलाई प्राथमिकतामा राखेर यस्ता अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ । स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायसँगको सहकार्यलाई थप सुदृढ गर्दै अवैध गाँजा फँडानी र लागूऔषध नियन्त्रणका कार्यक्रमलाई निरन्तर अघि बढाइने प्रतिबद्धता प्रहरीले व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार