२०८३ साउन २० , बुधबार

पहिरोले घर जोखिममा



जाजरकोट ।  जिल्ला सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका तिन र चारमा पहिरो खसेपछि बस्तीमा जोखिम बढेको छ  । अविरल वर्षाका कारण सोमबार राति सदरमुकाम खलङ्गाका रामजानकी टोल, ठाँटीबजार क्षेत्रमा खसेको पहिरोले एक दर्जन घर जोखिममा परेका छन्  ।  भेरी नगरपालिका चार रामजानकी टोल, वडा नं. तिन  स्थित ठाँटीबजार, सिमलगैरीलगायतका बस्तीमा पहिरो गएको छ ।  मङ्गलबार बिहानदेखि खसेको पहिरोले घरपछाडिको भाग पुरिएपछि सर्वसाधारणले घर छाडेर अन्यत्रै बस्न थालेका छन् ।

भेरी नगरपालिकाको एक्साभेटरले केही भागको लेदो पन्छाए पनि घरपछाडिको पहिरो पन्छाउन समस्या भएको छ  । सोही वडाका रत्नराज हमालको घरको दायाँबायाँ भागमा पनि जमिन भासिएपछि पक्की घर जोखिममा परेकोे छ । घर बचाउन स्थानीयको सहयोगमा घरमुनिको त्रिपाल लगाइएको भए पनि अविरल वर्षाका कारण थप क्षति हुन सक्ने स्थानीयले बताएका छन् । भेरी नगरपालिका चारका बालकृष्ण खनालले सरोकारवाला निकायको बेवास्ता, सर्वसाधारणको लापर्बाहीले जोखिम बढेको बताए ।

उनका अनुसार घर घरमा सडक पु¥याउने उद्देश्यले जथाभाबी खनिएका सडकका कारण भलपानी बग्न नपाउँदा पहिरोको जोखिम बढ्दै गएको छ  । भेरी नगरपालिका चार शान्ति चौतारादेखि थाप्लेचौर जाजरकोट अस्पताल, भेरी नगरपालिकाको प्रशासनिक केन्द्र हुँदै भेरी नगरपालिका कालेगाउँसम्मको सडक मर्मत नगरेका कारण पहिरोको जोखिम छ  । केही वर्षअघि नालीबिना कालोपत्रे गरेको करिब छ किलोमिटर सडक बर्खायामको भलपानी, घर तथा होटेलबाट बगेको फोहोर पानीले भेरी नगरपालिका तिन ठाँटीबजारमा पनि जोखिम बढेको छ  ।

शान्ति चौतारा–थाप्लेचौर हुँदै कालगाउँ–भेरी कोरिडोर सडकखण्डमा जोडिएको सडक स्थानीय सरकारले मर्मत नगरी बेवास्ता गर्दा सवारीसाधनलगायत सर्वसाधारणले आउजाउमा सास्ती पाउने गरेका छन् । यस्तै पहिरोले नलगाड नगरपालिका चार लहँस्थित विभिन्न गाउँबस्तीका करिब एक दर्जनभन्दा बढी सर्वसाधारणका घर, घट्ट, विद्यालयको पर्खाल, मकैबालीमासमेत क्षति पुगेको छ ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार