रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सेवाग्राहीलाई छिटो, छरितो, विश्वसनीय तथा पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली कार्यान्वयनमा ल्याएको छ । कार्यालयले सेवा सुधार तथा नवप्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत यो प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार टोकन प्रणाली लागू भएसँगै ‘पहिला आउनेलाई पहिलो सेवा’ भन्ने सिद्धान्तलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहज भएको छ ।
सेवाग्राहीले सम्बन्धित शाखाको टोकन लिएपछि आफ्नो पालोको प्रतीक्षा व्यवस्थित रूपमा गर्न सक्ने भएकाले अनावश्यक भीडभाड, हतार तथा अन्योलमा कमी आएको उनले बताए । कार्यालयले टोकन प्रणालीसँगै ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा प्रदान गर्ने व्यवस्था पनि निरन्तर कायम राखेको जानकारी दिए ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राष्ट्रिय गानसँगै कार्यालयको दैनिक सेवा सुरु गर्ने, डिस्प्ले बोर्डमार्फत सेवा प्राप्त गर्ने प्रक्रिया सार्वजनिक गर्ने तथा हरेक दिन प्रदान गरिएका सेवाको विवरण सार्वजनिक गर्ने अभ्यासलाई समेत निरन्तरता दिइएको उनले बताए । प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार कार्यालयमा एक हजार दुई सय ३४ नम्बरको टोल–फ्री सेवा सञ्चालनमा ल्याइएको छ । साथै विपद् कल सेन्टर र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पनि व्यवस्थित बनाइएको छ ।
सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित गुनासा वा सूचना प्राप्त हुनासाथ सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्ने व्यवस्था गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले टोकन प्रणालीले सेवा प्रवाहमा पारदर्शिता बढाएको र सेवाग्राहीको विश्वास समेत मजबुत बनाएको बताए । उनका अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा प्रशासन शाखाका लागि छुट्टाछुट्टै टोकन प्रणाली सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीले सम्बन्धित शाखाको टोकन लिएपछि डिस्प्ले बोर्डमा देखाइने नम्बर र कम्प्युटर प्रणालीबाट हुने घोषणा अनुसार आफ्नो पालोमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
यसले लाइन व्यवस्थापनलाई सहज बनाउनुका साथै सेवा प्राप्त गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाएको कार्यालयको भनाइ छ । त्रिवेणी गाउँपालिका चारका सेवाग्राही टन्ठबिर खड्काले टोकन प्रणालीले सेवा लिन निकै सहज भएको अनुभव सुनाए । उनले टोकन लिएपछि आफ्नो पालो कहिले आउँछ भन्ने स्पष्ट जानकारी हुने भएकाले फाइलको प्राथमिकता परिवर्तन हुने वा अन्योल सिर्जना हुने चिन्ता हटेको बताए । उनका अनुसार प्रणाली लागू भएपछि फाँटमा हुने भीडसमेत व्यवस्थापन भएको छ र आफ्नो नम्बर बोलाइएपछि सहज रूपमा सेवा प्राप्त गर्न सकिएको छ ।








