२०८३ साउन २१ , बिहीबार

मापसे–लापसे परीक्षण अभियान तीव्र



सल्यान । जिल्लामा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित र जिम्मेवार यातायात प्रणाली विकास गर्ने उद्देश्यले मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) परीक्षण अभियानलाई तीव्र बनाइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको अभियान अन्तर्गत बुधबार वनगाड कुपिण्डे नगरपालिका–स्थित सल्लीबजार–चौरजहारी सडकखण्डमा विशेष चेकजाँच गरिएको हो ।

सडक सुरक्षालाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको अभियानमा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक पातली, ट्राफिक प्रहरीका प्रतिनिधि तथा अन्य सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो । अधिकारीहरूले सडकमा गुडिरहेका सवारी साधन रोकी चालकको मापसे तथा लागूऔषध सेवन परीक्षण गर्नुका साथै ट्राफिक नियमको पालना गर्न सचेत गराएका थिए ।

प्रहरीका अनुसार दुर्घटनाका प्रमुख कारणमध्ये लापरवाहीपूर्ण सवारी सञ्चालन, मादक पदार्थ सेवनपछि सवारी चलाउने प्रवृत्ति तथा लागू औषधको प्रभावमा सवारी चलाउने अवस्था पनि पर्ने भएकाले यस्ता जोखिम न्यूनीकरण गर्न नियमित अनुगमनलाई प्रभावकारी बनाइएको हो । अभियानले चालकमा जिम्मेवारीबोध अभिवृद्धि गर्नुका साथै सडक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

चेकजाँचका क्रममा चालकलाई मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी सञ्चालन गर्दा हुने कानुनी कारबाही, दुर्घटनाको जोखिम तथा त्यसबाट हुने मानवीय र आर्थिक क्षतिबारे जानकारी दिइएको थियो । साथै ट्राफिक संकेतको पालना, तोकिएको गति सीमा कायम गर्ने, सिटबेल्ट तथा हेल्मेट अनिवार्य प्रयोग गर्ने र सवारी चलाउँदा पूर्ण सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानले सुरक्षित सडक संस्कृतिको विकासका लागि मापसे–लापसे परीक्षण अभियानलाई नियमित रूपमा सञ्चालन गरिने जनाएको छ । विशेषगरी दुर्घटनाको सम्भावना बढी हुने सडकखण्ड, बजार क्षेत्र तथा मुख्य राजमार्गमा यस्ता अनुगमनलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार अभियानको उद्देश्य चालकलाई कारबाही गर्नु मात्र नभई दुर्घटना हुनुअघि नै जोखिम न्यूनीकरण गर्दै नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु हो । जिल्लाभर सञ्चालन भइरहेको यस अभियानले ट्राफिक नियम पालनाको संस्कृति विकास गर्न तथा सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार