२०८३ साउन २२ , शुक्रबार

पश्चिमी सुर्खेतमा महिनौंदेखि ग्यास अभाव : नागरिकको प्रश्न “हामी पनि यही जिल्लाका नागरिक होइनौं र?”



दिलिप कंडेल । 

सुर्खेत । सुर्खेत जिल्ला केवल वीरेन्द्रनगरमा सीमित छैन । जिल्लाभित्र रहेका नौवटा स्थानीय तहमध्ये पश्चिमी क्षेत्रमा पर्ने चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका नागरिक भने महिनौदेखि खाना पकाउने एलपी ग्यास अभावको समस्या झेलिरहेका छन् । दैनिक उपभोगको अत्यावश्यक वस्तु ग्यास सहज रूपमा उपलब्ध नहुँदा हजारौं उपभोक्ता मारमा परेका छन् ।

स्थानीय व्यापारी दिनेश जोशीका अनुसार पटकपटक जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम सुर्खेत तथा सम्बन्धित ग्यास आपूर्तिकर्तासँग समन्वय र गुनासो गरिए पनि समस्या समाधान हुन सकेको छैन। सदरमुकाम आसपासका क्षेत्रमा ग्यास उपलब्ध हुने तर पश्चिमी भेगमा लामो समयसम्म अभाव रहनुले आपूर्ति प्रणालीमाथि नै प्रश्न उठाएको छ।

ग्यास अभावका कारण सर्वसाधारण दाउरा र अन्य वैकल्पिक इन्धन प्रयोग गर्न बाध्य भएका छन्। वर्षायाममा दाउरा व्यवस्थापन गर्न समेत कठिन हुँदा महिला, वृद्धवृद्धा तथा बालबालिकासमेत प्रत्यक्ष प्रभावित बनेका छन्।

स्थानीयले सम्बन्धित निकायसँग गम्भीर प्रश्न उठाएका छन् यदि जिल्लामा पर्याप्त ग्यास आपूर्ति भइरहेको छ भने चौकुने र पञ्चपुरीसम्म किन पुगिरहेको छैन? आपूर्ति प्रक्रियामा कतै कमजोरी छ कि वितरण प्रणालीमै समस्या छ? अथवा कतै कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी त भइरहेको छैन?

यस विषयमा जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम तथा सरोकारवाला निकायले तत्काल बजार अनुगमन गर्नुपर्ने माग स्थानीयले गरेका छन् । ग्यास डिपो, विक्रेता तथा वितरण प्रक्रियाको निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने उनीहरूको भनाइ छ।

यदि कतै कृत्रिम अभाव सिर्जना गरिएको, ग्यास लुकाएर राखिएको वा कालोबजारी भएको पाइएमा संलग्न व्यक्ति वा व्यवसायमाथि कानुन बमोजिम कडा कारबाही गर्नुपर्ने स्थानीयको माग छ। उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने जो,कोहीलाई उन्मुक्ति दिन नहुने उनीहरूको भनाइ छ ।

सरकारले नागरिकलाई सहज रूपमा आधारभूत सेवा र उपभोग्य वस्तु उपलब्ध गराउने दायित्व बोकेको छ। तर पश्चिमी सुर्खेतका नागरिकले महिनौंसम्म ग्यास नपाउँदा राज्यको सेवा प्रवाह र अनुगमन संयन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ।

अब सम्बन्धित निकायले आश्वासन मात्र होइन, तत्काल प्रभावकारी कदम चालेर चौकुने र पञ्चपुरीमा नियमित ग्यास आपूर्ति सुनिश्चित गर्नुपर्ने देखिन्छ। अन्यथा पश्चिमी क्षेत्रप्रतिको बेवास्ताको गुनासो झन् चर्किने निश्चित छ। पश्चिमी सुर्खेतका नागरिकको एउटै प्रश्न छ, ग्यास आखिर कहिले आउँछ? र यदि वितरणमा अनियमितता भएको छ भने दोषीमाथि कारबाही कहिले हुन्छ?

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार