कालीकोट । जिल्लाकाे पलाँता गाउँपालिका नाै स्थित पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार, अभद्र व्यवहार र अनधिकृत रूपमा अस्पताल परिसरमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब एक बजे १४ र १५ वर्षका एकैघरका दुई किशोर अस्पतालको वाइफाइमा मोबाइल जोडेर ओपीडी नजिकै गेम खेलिरहेका थिए । अस्पताल परिसरमा मोबाइल चलाइरहेका उनीहरूलाई चिकित्सकले बाहिर गएर मोबाइल चलाउन आग्रह गरेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि किशोरका परिवारका अन्य सदस्यसमेत अस्पताल पुगेका थिए । त्यसक्रममा चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार भएको प्रहरीले जनाएको छ ।
घटनापछि रातिको समयमा पुनः अस्पतालमा प्रवेश गरी तोडफोडसमेत गरिएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । पक्राउ परेकामाथि घटनाको प्रकृति र प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
स्वास्थ्यकर्मीमाथि भएको भनिएको कुटपिट तथा अस्पताल तोडफोडको घटनाप्रति स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । उनीहरूले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्दै घटनामा संलग्नमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा हुने विवाद तथा हिंसात्मक गतिविधिले स्वास्थ्य सेवा प्रभावित हुने भन्दै सम्बन्धित पक्षले संयम अपनाउनुपर्ने स्थानीयको भनाइ छ ।









