रुकुम पश्चिम । मनसुनका समयमा हुन सक्ने बाढी, डुबान तथा नदी, ताल र पोखरीमा हुने जलजन्य विपद्लाई मध्यनजर गर्दै रुकुम पश्चिममा विपद् पूर्वतयारी तथा उद्धार व्यवस्थालाई मजबुत बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले आवश्यक उद्धार सामग्रीसहित जनशक्तिलाई तयारी अवस्थामा राखिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार जिल्लामा हाल तीन वटा रबर बोट उपलब्ध छन् ।
बाढी तथा डुबानमा परेका नागरिकको तत्काल उद्धार गर्न सकिने गरी ती बोटलाई तयारी अवस्थामा राखिएको छ । उपलब्ध रबर बोटमध्ये एउटा युएनडिपी नेपाल, अर्को सशस्त्र प्रहरी बल नेपालबाट प्राप्त भएको हो भने तेस्रो बोट जिल्लाका स्थानीय तहहरूको संयुक्त लगानीमा खरिद गरिएको हो । तीमध्ये एउटा रबर बोटमा मोटरसमेत जडान गर्न मिल्ने व्यवस्था छ । यसले तीव्र बहाव भएका नदी तथा दुर्गम जलक्षेत्रमा उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न सहज हुने प्रशासनको अपेक्षा छ ।
प्रजिअ गौतमका अनुसार जिल्लामा विपद् पूर्वतयारीलाई प्राथमिकतामा राख्दै खोज तथा उद्धारका लागि आवश्यक सामग्री व्यवस्थापन गरिएको छ । सुरक्षा निकायमा उद्धार सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ । त्यस्तै, आपत्कालीन कार्य सञ्चालन केन्द्र व्यवस्थापन गरी विपद्सम्बन्धी सूचना एकीकृत गर्ने व्यवस्था मिलाइएको छ भने मनसुन पूर्वतयारी योजना बनाएर कार्यान्वयनमा ल्याइएको छ ।
स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबीच समन्वयलाई प्रभावकारी बनाउँदै विपद् व्यवस्थापनलाई व्यवहारिक र छिटो प्रतिक्रिया दिन सक्ने बनाउने प्रयास भइरहेको उनले बताए । प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले रुकुम पश्चिम भौगोलिक रूपमा जोखिमयुक्त जिल्ला भएकाले मनसुनमा बाढी तथा डुबानको सम्भावनालाई ध्यानमा राखेर सुरक्षा जनशक्ति र उद्धार सामग्री तयारी अवस्थामा राखिएको बताए । जिल्ला सुरक्षा समितिअन्तर्गत रहेका तीनवटै रबर बोट आवश्यक परेको अवस्थामा तत्काल परिचालन गर्न सकिने उनकाे भनाइ छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४७ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुवेन बाबु कँडेलले जल उद्धारमा रबर बोटको भूमिका महत्वपूर्ण हुने बताए । उनका अनुसार डुबानमा परेका व्यक्तिको उद्धारमा समय महत्वपूर्ण हुने भएकाले रबर बोटमार्फत उद्धार टोली सुरक्षित रूपमा घटनास्थलसम्म पुग्न सहज हुन्छ । रुकुम पश्चिममा वर्षायाममा सानीभेरी, ठूलीभेरीलगायतका नदी तथा खोलामा पानीको बहाव बढ्ने गरेको छ । विगतमा बाढी, डुबान र पहिरोका घटना हुँदै आएका छन् । भूकम्प प्रभावित क्षेत्रसमेत भएकाले कमजोर भूगोलका कारण मनसुनमा बाढी तथा पहिरोको जोखिम थप रहने प्रशासनले जनाएको छ ।









